धनगढी— एक्सपर्ट एजुकेशन धनगढीले विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै फागुन ५ गते सोमबार अध्ययन सेमिनार आयोजना गर्ने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले सेमिनारबारे विस्तृत जानकारी दिएको हो।
संस्थाका डाइरेक्टर दिपेन्द्र चौधरी का अनुसार विदेश अध्ययनसम्बन्धी सही र आधिकारिक जानकारी प्रदान गर्ने उद्देश्यले हरेक वर्ष नियमित रूपमा सेमिनार सञ्चालन गर्दै आएको र यस वर्ष पनि सोही निरन्तरता दिइएको हो। उनले विद्यार्थीहरूलाई छात्रवृत्ति कसरी प्राप्त गर्ने, उपयुक्त देश तथा विश्वविद्यालय कसरी छनोट गर्ने, आवश्यक कागजात तयारीदेखि भिसा प्रक्रियासम्मका विषयमा विशेषज्ञमार्फत परामर्श प्रदान गरिने जानकारी दिए।
“धेरै विद्यार्थीलाई कुन देश जाने वा कुन विश्वविद्यालय छनोट गर्ने भन्ने विषयमा स्पष्ट जानकारी हुँदैन,” डाइरेक्टर चौधरीले भने, “यही अन्योल हटाई सही मार्गदर्शन दिन हामीले प्रत्येक वर्ष सेमिनार आयोजना गर्दै आएका छौं। यसपटक पनि विद्यार्थी तथा अभिभावकलाई विश्वसनीय सूचना र व्यावहारिक सुझाव दिनेछौं।”
सेमिनारमा विशेषगरी अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके र संयुक्त राज्य अमेरिका (युएसए)मा अध्ययनका अवसरबारे विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ। यी पाँच देश नेपाली विद्यार्थीका लागि पछिल्लो समय लोकप्रिय गन्तव्यका रूपमा रहेका छन्।
आयोजकका अनुसार सम्बन्धित देशका शिक्षा प्रणालीबारे जानकार विज्ञ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागितामा प्रत्यक्ष परामर्श सत्र सञ्चालन गरिनेछ। विद्यार्थीहरूले सेमिनारमा आफ्नो शैक्षिक योग्यता, भाषा परीक्षा, आर्थिक योजना तथा भविष्यको लक्ष्यअनुसार कुन देश वा विश्वविद्यालय उपयुक्त हुन्छ भन्ने विषयमा प्रत्यक्ष सुझाव पाउनेछन्।
सेमिनारमा शिक्षा प्रणालीको संरचना, विश्वविद्यालय छनोट प्रक्रिया, भर्ना मापदण्ड, आवश्यक कागजात, छात्रवृत्ति अवसर, अनुमानित अध्ययन खर्च, बसोबास व्यवस्थापन, भिसा आवेदन प्रक्रिया तथा अध्ययनसँगै काम गर्ने नियमबारे विस्तृत जानकारी दिइनेछ। साथै, विद्यार्थीहरूले आफ्ना व्यक्तिगत जिज्ञासा राख्न सक्ने र विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्ने व्यवस्था मिलाइएको छ।
संस्थाकी म्यानेजर निलम चौधरी ले विद्यार्थीको व्यक्तिगत पृष्ठभूमिलाई ध्यानमा राखेर परामर्श प्रदान गरिने बताइन्। “विद्यार्थीको शैक्षिक पृष्ठभूमि, आर्थिक अवस्था र भविष्यको लक्ष्यलाई मध्यनजर गर्दै व्यक्तिगत काउन्सेलिङ गरिनेछ,” उनले भनिन्, “हामी कुनै एक देशमा मात्र केन्द्रित हुँदैनौं, विद्यार्थीका लागि सबैभन्दा उपयुक्त विकल्प सिफारिस गर्ने हाम्रो प्राथमिकता हो।”
पछिल्लो समय विदेश अध्ययनप्रति नेपाली विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। तर अपूर्ण वा भ्रामक सूचनाका कारण कतिपय विद्यार्थीहरू आर्थिक तथा कानुनी समस्यामा पर्ने गरेको उदाहरणहरू पनि देखिएका छन्। यसै सन्दर्भमा आयोजकले प्रमाणिक र आधिकारिक जानकारी प्रदान गरी विद्यार्थीलाई सचेत बनाउने उद्देश्यले सेमिनारलाई व्यवस्थित र प्रभावकारी बनाइएको जनाएको छ।
सेमिनारमा सहभागी हुन इच्छुक विद्यार्थी तथा अभिभावकले पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोजकका अनुसार सीमित सिट उपलब्ध भएकाले समयमै नाम दर्ता गरी अवसरको लाभ लिन आग्रह गरिएको छ।
कार्यक्रम फागुन ५ गते एक्सपर्ट एजुकेशन कै धनगढीस्थित कार्यालयमा आयोजना गरिनेछ। सेमिनार बिहानदेखि सुरु भई दिनभर विभिन्न सत्रमार्फत सञ्चालन हुने बताइएको छ।
संस्थाले विदेश अध्ययनजस्तो महत्वपूर्ण निर्णय जीवनकै भविष्यसँग प्रत्यक्ष जोडिने विषय भएकाले हतारमा वा अपूर्ण जानकारीका आधारमा निर्णय नगर्न आग्रह गरेको छ। सही योजना, स्पष्ट लक्ष्य र विश्वसनीय परामर्शमार्फत अघि बढेमा विदेश अध्ययन सफल र उपलब्धिमूलक बन्न सक्ने संस्थाको विश्वास छ।




प्रतिक्रिया दिनुहोस्