कैलाली :- सुदूरपश्चिममा सबैभन्दा चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक हो कैलाली–५। प्रदेशकै एक मात्र उपमहानगर तथा प्रमुख व्यापारिक केन्द्र धनगढी समेटिएको यो क्षेत्रमा २१ फागुनमा हुने निर्वाचनलाई लिएर चुनावी सरगर्मी तीव्र बनेको छ।
यसपटक नेपाली कांग्रेसले प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’लाई उम्मेदवार बनाएको छ। डोटीमा ह्याट्रिक जित निकालिसकेका प्रेमबहादुर आले नेपाली कम्युनिस्ट पार्टीबाट मैदानमा उत्रिएपछि प्रतिस्पर्धा थप रोचक बनेको छ। नेकपा (एमाले) का तर्फबाट जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्द चन्द उम्मेदवार बनेका छन्। मुख्य प्रतिस्पर्धा यी चार जनाबीच हुने आँकलन गरिएको छ।
उस्तै एजेण्डा, फरक दाबी
उम्मेदवारहरू अहिले आ–आफ्ना प्रतिबद्धतासहित मतदातामाझ पुगिरहेका छन्। अधिकांशका चुनावी एजेण्डा उस्तै देखिन्छन्। सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला क्रिकेट मैदान निर्माण, गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, धनगढीलाई महानगर बनाउने विषय सबै उम्मेदवारका प्राथमिक एजेण्डामा परेका छन्।
कांग्रेस उम्मेदवार शाहले सेती अस्पतालको स्तरोन्नति र राष्ट्रिय महत्वका आयोजनामा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। निर्वाचित भए सचिवालय धनगढीमै स्थापना गरी जनताको समस्या स्थानीय स्तरमै समाधान गर्ने उनको योजना छ। उनले धनगढी उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गर्ने, चिसापानी–गड्डाचौकी खण्डलाई छ लेनमा विस्तार गर्ने, त्रिनगर भन्सार स्तरोन्नति, पश्चिम सेती, पञ्चेश्वर, सुख्खा बन्दरगाहा, दैजी–छेला औद्योगिक क्षेत्रलगायतका आयोजना अघि बढाउने बताएका छन्।
एमाले उम्मेदवार ढुंगानाले पनि धनगढीलाई सुविधासम्पन्न महानगर बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने, सेती अस्पताललाई संघीय मातहत ल्याउने, गेटामा एमबीबीएस अध्ययन सुरु गर्ने तथा ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने योजना उनको छ। सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्ने उनले बताएका छन्।
नेकपा उम्मेदवार आलेले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन्। बजेट अभावका कारण रोकिएको आयोजनालाई अघि बढाउने, धनगढी विमानस्थलको धावनमार्ग २५ सय मिटर पुर्याउने, सिकलसेल बिरामीका लागि छुट्टै वार्ड स्थापना गर्ने, सेती अस्पताललाई संघीय सरकार मातहत सञ्चालन गर्ने तथा छोटो दूरीको सडक सञ्जाल निर्माण सम्पन्न गर्ने योजना उनले सार्वजनिक गरेका छन्।
रास्वपा उम्मेदवार चन्द जनस्वास्थ्य अभियन्ताका रूपमा परिचित छन्। शिक्षा, विज्ञान, सुशासन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका उनले सेती अस्पताललाई गेटा विश्वविद्यालय मातहत ल्याई स्तरोन्नति गर्ने, सुशासन कायम गर्ने र धनगढीलाई व्यवस्थित सहर बनाउने प्रतिबद्धता जनाएका छन्।
मतदाताको निर्णायक भूमिका
कैलाली–५ मा विकासका एजेण्डा धेरै छन्, तर ती कार्यान्वयनमा लैजाने क्षमता कसमा छ भन्ने प्रश्न मतदातामाझ छ। उस्तै प्रतिबद्धता दोहोर्याइएका कारण मतदाताले यसपटक व्यक्तित्व, विगतको कार्यशैली र विश्वासका आधारमा निर्णय गर्ने संकेत देखिएको छ।
२१ फागुनको निर्वाचनले कैलाली–५ को राजनीतिक भविष्य मात्र होइन, सुदूरपश्चिमको विकासको दिशा पनि निर्धारण गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्