कञ्चनपुरः जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षाका लागि अनुगमनकर्तालाई तालिम प्रदान गरिएको जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नौ जना मतदाता शिक्षा अनुगमनकर्तालाई प्रशिक्षण दिइएको सो कार्यालयले जनाएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले तीन निर्वाचन क्षेत्र रहेका जिल्लाका नौ वटै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालनका लागि अनुगमनकर्तालाई प्रशिक्षण दिइएको जानकारी दिए।
मतदान प्रक्रियालाई सरल, सहज बनाउन तथा बदर हुने मतलाई घटाउने अपेक्षासहित अनुगमनकर्तालाई प्रशिक्षण प्रदान गरिएको उनले बताए। अनुगमनकर्ताले पालिका स्तरमा छनौट भएका स्वंयमसेवकलाई मत बदर हुन नदिन तालिम प्रदान गर्ने उनले बताए।
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा अत्यधिक मत बदर हुँदैआएको छ । वि.सं २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कुल खसेको मतको ६.५ प्रतिशत मत बदर भएको थियो ।
सूचना अधिकारी महराका अनुसार निर्वाचन क्षेत्र १ मा ९९ हजार ११० मतदातामध्ये ६३ हजार ७७० मत खसेकोमा ६० हजार १४० मत सदर भएको थियो भने तीन हजार ६३० मत बदर भएको थियो । त्यसैगरी, क्षेत्र–२ मा चार हजार ८५३ मत बदर भएको थियो । क्षेत्र–३ मा तीन हजार ६२१ मत बदर भएको थियो ।
गत निर्वाचनमा अत्यधिक मत बदर भएकाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन मतदाता शिक्षा अनुगमकर्तालाई आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागि तालिम प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।
जिल्लाको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, पुनर्वास नगरपालिका तथा बेलडाँडी र लालझाँडी गाउँपालिकाका ९२ वटै वडामा एक–एक जना अनुभवीलाई स्वयंसेवक नियुक्त गरिएको छ ।
यस जिल्लामा १३२ वटा मतदानस्थलमा कुल तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन् । मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घर बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारेमा मतदातालाई जानकारी गराउने छन् । आगामी निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षाको महत्वपूर्ण भूमिका रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिसचन्द्र जोशीले बताए।




प्रतिक्रिया दिनुहोस्