धनगढीः माघ २३ गते बैतडीको पुर्चौडी-७ मा १३ जनाको ज्यान जाने गरी बस दुर्घटना भयो। उक्त दुर्घटनामा ४५ जना घाइते भएका थिए। घाइते मध्ये १४ जनाको यो समाचार तयार गर्दासम्म धनगढीमा उपचार भइरहेको छ।
दुर्घटनामा ज्यान गुमाउने १३ जना मध्ये पाँच जनाको डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो। घटनास्थलबाट घाइतेहरूलाई डडेल्धुरा अस्पताल पुगाउन पाँच घण्टा समय लागेको थियो।
सडक तथा अन्य दुर्घटनाका घाइतेहरूलाई तत्काल प्राथमिक उपचार गर्ने भनेर आर्थिक वर्ष २०७७/७८ मै बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा निर्माण भएको ट्रमा युनिट सञ्चालनमा आएको भए पुर्चौडी बस दुर्घटनामा घाइतेहरुको प्राथमिक उपचार खोड्पे ट्रमा युनिटमै सम्भव हुन्थ्यो। तर पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्देश्वर स्वास्थ्य चौकीमा निर्माण गरिएको ट्रमा युनिट प्रयोगविहीन बनेको छ।
नेपाल सरकारले २०७७ भदौ १२ गते ट्रमा सेवा सञ्चालन कार्यविधि, २०७७ ल्याएको थियो। उक्त कार्यविधिअनुसार सङ्घीय सरकारले बैतडीको खोड्पेमा ट्रमा युनिटका लागि भौतिक संरचना निर्माण गर्न ५० लाख बजेट विनियोजन गरेको थियो। सो बजेटमा पाटन नगरपालिका दश लाख थपेर ट्रमा युनिट सञ्चालनका लागि भवन निर्माण गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनले २०७८ मै भौतिक संरचना तयार भए पनि जनशक्ति र उपकरण अभावमा ट्रमा युनिट सञ्चालनमा आउन नसकेको महराले बताए।
‘सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो,’ उनले भने, ‘भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन।’
नेपाल सरकारले तयार गरेको ट्रमा सेवा सञ्चालन कार्यविधि, २०७७ मा सङ्घीयस्तरमा राष्ट्रिय ट्रमा सेन्टर हुने उल्लेख छ। यस्तै, हरेक प्रदेशमा एउटा ट्रमा सेन्टर प्रदेश तहका अस्पताल अन्तर्गत रहने गरी बढी दुर्घटना हुने क्षेत्र नजिक स्थापना गरिने उल्लेख छ। यसैगरी, प्रादेशिक ट्रमा सेन्टर लागत साझेदारीमा सञ्चालन गरिने र जनशक्तिको व्यवस्था प्रदेश तहबाट र उपकरण तथा पूर्वाधार व्यवस्था सङ्घीय सरकारबाट हुने स्पष्ट व्यवस्था छ। तर बैतडीको खोड्पेमा पाँच वर्ष अगाडि निर्माण भएको ट्रमा युनिटको भवन भने अहिलेसम्म प्रयोगविहिन छ।
सवारी दुर्घटना तथा अन्य कारणले चोटपटक लागेका व्यक्तिहरुको जीवन रक्षाको लागि राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार मुख्य राजमार्ग नजिक ट्रमा युनिट राख्ने भनेर बैतडीको खोड्पेमा ट्रमा युनिट सञ्चालनका लागि भौतिक संरचना निर्माण भएको हो।
ट्रमा युनिटमा १५ शय्या अट्ने हल, एक्सरेसहितका उपकरण राख्न मिल्ने कोठा, स्टाफ कक्ष र शौचालय निर्माण गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए।
उनले भने, ‘नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन, प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेका छौँ। तर अहिलेसम्म सुनुवाइ भएको छैन।’
स्थानीय तहको १० लाख र सङ्घीय सरकारको ५० लाख रुपैयाँ गरी जम्मा ६० लाख रुपैयाँ संयुक्त लगानीमा ट्रमा युनिटका लागि भवन निर्माण गरिएको तथा २०७९ सालमा भवन निर्माण भएको महराले बताए।
उनले भने, ‘ट्रमा युनिट भवनमा स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ ओटा शय्या छन्। तर जनशक्ति व्यवस्थापन गरेर नगरपालिकाले नै सञ्चालन गर्न सकेको छैन। प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्नुपर्ने हो, त्यसो पनि हुन सकेको छैन।’

तस्विरमा पाटन-८ का वडा अध्यक्ष हरिश विष्ट मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै (तस्विर सौजन्यः पत्रकार कृष्ण विष्ट)
ट्रमा युनिट भवनमा एक वर्षअघि खानेपानी र विद्युत् जडान भइसकेको छ। एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सके सञ्चालनमा ल्याउन सकिने पाटन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिश विष्टले बताए। उनले गत वर्ष मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्रमा युनिट सञ्चालनका लागि ज्ञापनपत्र बुझाइए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको अध्यक्ष विष्टले बताए।
‘हामीले २०८१ असोज १८ गते मुख्यमन्त्रीज्यूलाई ट्रमा युनिट सञ्चालनका लागि ज्ञापनपत्र बुझाएका हौँ तर अहिलेसम्म कुनै काम भएको छैन,’ उनले भने, ‘प्रदेश सरकारले केही उपकरण र चिकित्सकसहितको जनशक्तिको व्यवस्था गर्न सके सडक तथा अन्य दुर्घटनामा परेका घाइतेहरूको ज्यान जोगाउन सकिन्थ्यो होला।’
ट्रमा युनिटबारे प्रदेश सरकार बेखबर!
सङ्घीय सरकारले २०७७ मै तयार गरेको ट्रमा सेवा सञ्चालन कार्यविधिबारे सुदूरपश्चिम प्रदेश सरकार बेखबर रहेको पाइएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले गत वर्ष नै ट्रमा युनिट सञ्चालनमा ल्याउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने कुनै काम भएको छैन। प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा ट्रमा सेन्टर सञ्चालनबारे उल्लेख गरे पनि व्यवहारमा भने कुनै काम गर्न सकेको छैन।
यता प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले ट्रमा सेवा सञ्चालन कार्यविधि, २०७७ बारे थाहा नभएको प्रतिक्रिया दिएका छन्। उनले बैतडीको खोड्पेमा तयार भौतिक संरचनामा ट्रमा युनिट सञ्चालनका लागि आवश्यक पहल गर्ने बताएका छन्। मन्त्री खड्काले प्रदेश सरकारले यथाशीघ्र ट्रमा युनिट सञ्चालनका लागि आवश्यक कमद चाल्ने बताएका छन्।
बैतडीको खोड्पेमा ट्रमा सेवा युनिट सञ्चालनमा आएको भए माघ २३ मा भएको जन्ती बोकेको बस दुर्घटनाका घाइतेहरूलाई अस्पताल ल्याउन सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध हुने थियो भने ट्रमा सेवा युनिटमा द्रुत किसिमले प्राथमिक उपचार सम्भव हुने थियो। जसले गर्दा अस्पताल ल्याउँदै गर्दा ज्यान गुमाउनेहरूलाई बचाउन सकिन्थ्यो कि भन्ने कुरा मनमा लागेको घटनामा ज्यान गुमाउनेहरूका आफन्तहरूले बताउने गरेका छन्।




प्रतिक्रिया दिनुहोस्