पशुपतिनाथसहित देशभरिका शिवालयहरूमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका अवसरमा मनाइने महाशिवरात्रि पर्व आज देशभर भगवान् शिवको पूजा-आराधनासहित श्रद्धापूर्वक मनाइएको छ । यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत राजधानी र बाहिरी जिल्लाका विभिन्न शिवालयहरूमा बिहानदेखि नै दर्शनार्थीको उल्लेख्य भीड देखिएको छ ।

धार्मिक मान्यताअनुसार यस दिन उपवास बसेर शिवको पूजा, दर्शन तथा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । यही मान्यताका आधारमा श्रद्धालुहरू बिहानैदेखि नदी, कुण्ड तथा जलाशयमा स्नान गरी मन्दिर पुगेर पूजा–अर्चना गर्ने क्रम जारी छ । शिवलाई प्रिय मानिने दूध, बेलपत्र र धतुरो अर्पण गर्ने प्रचलन रहेको छ भने रातभर जाग्राम बस्दा पुण्य लाभ हुने धार्मिक धारणा पनि प्रचलित छ । राष्ट्रिय सांस्कृतिक महत्त्व बोकेको यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

पशुपति क्षेत्रमा विशेष पूजा अर्चना कार्यक्रमअन्तर्गत चार प्रहरमा चार प्रकारका पूजा, महादीप तथा अखण्डदीप प्रज्वलन, लक्ष्यबत्ती र दीपोत्सव सञ्चालन गरिने व्यवस्था गरिएको छ । साथै लाखौँ बेलपत्र अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । क्षेत्रभित्र रहेका कैलाशकुट तथा किरातेश्वरस्थित संगीत आश्रमहरूमा सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको छ । नेपालका विभिन्न जिल्लासँगै छिमेकी भारत बाट समेत तीर्थयात्री सहभागी भएका छन् ।

दर्शन व्यवस्थापनलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोष ले बिहान २ बजेदेखि नै मन्दिरका चारवटै प्रवेशद्वार खुला गरेको जनाएको छ । यस वर्ष दर्शनार्थी व्यवस्थापनका लागि बाहिरी क्षेत्रमा तीनवटा लाइन तथा मूल परिसरभित्र उत्तर र दक्षिणतर्फ तीन-तीन तथा पश्चिमतर्फ चारवटा लाइन निर्धारण गरिएको छ । सवारी साधन पार्किङका लागि सिफल, तिलगंगा, गुह्येश्वरी क्षेत्र, कोष कार्यालय परिसर तथा वनकाली आसपासका स्थान तोकिएको छ ।

राजधानीभित्रका गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर लगायत अन्य शिवालयहरूमा पनि भक्तजनको उपस्थिति उच्च देखिएको छ भने देशका विभिन्न जिल्लामा रहेका शिव मन्दिरहरूमा पूजा अर्चना तथा मेला आयोजना गरिएको छ ।

विगत वर्षहरूमा महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा १० लाखभन्दा बढी श्रद्धालु सहभागी हुने गरेका थिए । यस वर्ष पनि सोही हाराहारीमा दर्शनार्थी आउने अपेक्षा गरिएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटा ले जानकारी दिएका छन् ।

दर्शनार्थीहरूको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै सुरक्षाकर्मी, स्काउट तथा विभिन्न संघ-संस्थाहरू परिचालन गरिएको छ । ती संस्थाहरूले भोजन, पेयजल तथा प्राथमिक स्वास्थ्य जाँचसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार