गुण्डागर्दीको जालो भत्काउँदै कञ्चनपुरका डिएसपी शाही, भन्छन्- ‘कानून मिच्न कसैलाई दिन्न’

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जिल्लामा बढ्दो गुण्डागर्दी नियन्त्रणका लागि सक्रियता बढाएका छन् ।

शुक्रबार आयोजित पत्रकार परिचय कार्यक्रममा उनले समाजमा शान्ति र सुरक्षा कायम गर्न कुनै कमी हुन नदिने स्पष्ट पारे । केही दिनअघि मात्र कञ्चनपुर आएका शाहीले पछिल्लो समय महेन्द्रनगर र आसपासका क्षेत्रमा युवाहरू समूह बनाएर असामाजिक गतिविधि गर्ने प्रयास बढेको जानकारी पाएपछि निगरानी कडा पारेका हुन् ।

उनका अनुसार केही युवाहरूले संगठित रूपमा ग्याङ बनाएर सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गर्ने, हुलहुज्जत गर्ने तथा कानूनविपरीत गतिविधिमा संलग्न हुने प्रयास गरिरहेका थिए । सामाजिक सञ्जालमा खुँडासहित भिडियो पोस्ट गरेको आधारमा प्रहरीले महेन्द्रनगरका कुनाल अवस्थीसहित तीन जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।

‘शान्ति र सुशासन कायम गर्नु नेपाल प्रहरीको दायित्व हो । टोल–टोलमा ग्याङ बनाएर अवाञ्छित गतिविधि गर्ने जो–कोही पनि कारबाहीको दायरामा आउँछन् ।’ शाहीले बताए । उनले सम्भावित गुण्डा गतिविधिमा संलग्न व्यक्तिहरूको ‘प्रोफाइलिङ’ गरिरहेको समेत उल्लेख गरे ।

जन्मदिन मनाउने नाममा महाकाली नदीको चार लेन पुलमा आवागमन अवरुद्ध गर्ने जस्ता कार्य निन्दनीय रहेको उनको भनाइ छ । युवाहरूको समूह देखाएर कानूनले निषेध गरेका गतिविधि गर्न नपाइने उनले चेतावनी दिएका छन् ।

पछिल्ला केही महिनायता महेन्द्रनगर क्षेत्रमा समूह बनाएर कुटपिट र झैझगडा गर्ने घटनाहरू बढ्दै गएको प्रहरीको भनाइ छ । केन्द्रीय निर्देशनअनुसार पनि समाजमा शान्ति सुरक्षा बिगार्ने तत्वमाथि निगरानी बढाइएको शाहीले बताए । साथै, आसन्न निर्वाचनलाई मध्यनजर गर्दै यस्ता सञ्जाल भत्काउने अभियान तीव्र बनाइएको उनको भनाइ छ ।

यसअघि विभिन्न जिल्लामा कार्यरत रहँदा पनि शाहीले गुण्डागर्दी नियन्त्रणमा कडा कदम चालेका थिए । कञ्चनपुरमा पनि उनले सोही अभियानलाई निरन्तरता दिएका छन् ।

‘युवाहरूको उच्छृंखल गतिविधि समयमै नियन्त्रण नगरिए भविष्यमा ठूलो समस्या बन्न सक्छ’, उनले भने, ‘नेपाल प्रहरी यहाँ उच्च मनोबलका साथ काम गरिरहेको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार