धनगढी । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग क्रिकेट हेर्ने सुनौलो अवसर अब धनगढीमा जुट्ने भएको छ ।
फागुन ३ गते मल्ल धनगढी आउने कार्यक्रम तय भएको छ । धनगढीस्थित एसटिएस सिनेमा हलमा आयोजना हुने ज्ञानेन्द्र मल्लसँग क्रिकेट हेरौँ कार्यक्रममा उनी क्रिकेट फ्यानहरूसँगै बसेर टि २० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल हेर्नेछन् ।
कार्यक्रमको आयोजना ब्याक अफ होप ले गर्न लागेको हो । आयोजकका अनुसार उक्त कार्यक्रमले राष्ट्रिय टोलीका पूर्व कप्तानसँग प्रत्यक्ष भेटघाट गर्ने अवसरसँगै क्रिकेट प्रेमीहरूलाई एउटै छानामुनि जोड्ने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।
धनगढीका क्रिकेट पारखीहरूका लागि यो कार्यक्रम विशेष आकर्षण बन्ने निश्चित छ । पूर्व कप्तानसँगै बसेर अन्तर्राष्ट्रिय खेल हेर्ने अनुभवले उत्साह झन् बढाउने अपेक्षा गरिएको छ ।
टि २० विश्वकप अन्तर्गत नेपाल र वेष्ट इन्डिजबीचको खेल फागुन ३ गते बिहान ११ः१५ बजे सुरु हुनेछ ।




प्रतिक्रिया दिनुहोस्