पोखराको फेवातालमा माछा मार्ने क्रममा लोड गरिएको अवस्थाको एक थान ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर) फेला परेको छ। बिहीबार दिउँसो पोखरा महानगरपालिका–१८ खपौदीस्थित तालमा स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्दा उक्त हतियार फेला परेको हो ।
तालमा माछा मार्ने क्रममा जालमा गह्रौँ वस्तु अड्किएपछि तान्दा हतियार देखिएको भन्दै जलारीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट टोली खटिएको थियो।
प्रहरीका अनुसार बरामद हतियारमा ‘मु वा १११ (बट) नम्बर बडी नं. १३८१०’ उल्लेख छ। उक्त एसएलआरमा १८ राउण्ड गोली लोड गरिएको म्यागजिनसमेत फेला परेको कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।फेवातालमा माछा मार्ने क्रममा भेटिएको लोड गरिएको अवस्थाको ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर)
‘माछा मार्ने जालमा अड्किएर एसएलआर राइफल र गोली लोड भएको म्यागजिन बाहिर निस्किएको देखिन्छ,’ डीएसपी बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बरामद हतियारबारे प्रारम्भिक अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाइएको छ।’
सुरक्षा निकायले मात्र प्रयोग गर्ने परिष्कृत हतियार तालको गहिराइमा कसरी र कहिले पुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । द्वन्द्वकालीन समयमा फालिएको वा पछिल्लो समय कुनै आपराधिक समूहले लुकाएको हुन सक्ने दुवै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माओवादी द्वन्द्वको समयमा नेपाली सेनाले २०५२ देखि २०६३ सम्म ७.६२ एमएम क्यालिबरको एसएलआर प्रयोग गरेको थियो। तत्कालीन विद्रोही माओवादीले सुरक्षा निकायमाथि आक्रमण गरेर ठूलो संख्यामा एसएलआरहरू कब्जा गरेका थिए। द्वन्द्वको अन्त्यपछि, धेरै हतियारहरू प्रमाणीकरण भए पनि कतिपय हतियार हराएको वा लुकाइएको आशंका गरिन्छ। हाल नेपाली सेनाले एम-१६ प्रयोग गर्छ।





प्रतिक्रिया दिनुहोस्