काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा अहिले चुनावी दबाबमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले जनकपुर सभामा स्थानीय (मधेस)को भाषामा बोल्दा ‘चटक’ भन्ने थापाले यतिबेला चुनावी राजनीतिका लागि ‘महाचटक’ देखाएका छन्।
महोत्तरीमा थाकथलो रहेका बालेनलाई कटाक्ष गरेका थापा यतिबेला चुनावै लड्नका लागि सर्लाही–४ मा दबाबमा परेका छन्। रास्वपाका उम्मेदवार अमरेश सिंहसँगको प्रतिस्पर्धा बलियो हुने भएपछि थापा मधेसी भाषामा बोल्न बाध्य भएका हुन्।
चुनावी प्रचारका लागि मधेसको बरहथवामा पुगेका थापाले सम्बोधनका लागि फेसबुकमा लेखेका छन्,‘आइ बरहथवा न.पा. अन्तर्गत हजरिया मे स्थानीय किसान सब से भेटघाट करे के क्रम मे आलु, मकै आ उखु खेती उत्पादन लागत, बजार व्यवस्थापन आ बागमती नदी किनारके तटबन्धसे जुडल चुनौती सबके बारेमे बिस्तृत रुपमे गुनासो आ सुझाव सब सुनली।’
उनको यो मधेसी भाषा पनि पूर्ण छैन। तैपनि उनी थप्छन्,‘खेती आ नदी नियन्त्रण के विषय जनजिविका आ दीर्घकालीन विकास से सिधा जुडल महत्त्वपूर्ण स्थानीय सवालके नीतिगत समाधान केन्द्र तहतक पहुँचा के व्यव्हारिक समाधानके ओरी आगाडि बढम।’
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fthapagk%2Fposts%2Fpfbid02Lvq8gupE6z4L8ErTkyRecKRWgXsqyDYvZx49iUbckY2VDQV11xxKNbazG4M3t8x9l&show_text=true&width=500
राजनीतिमा परिस्थिति कसरी फेरिन्छ भन्ने एउटा रोचक दृष्टान्त थापा हुन्।
केही समयअघि बालेन शाहले जनकपुरमा मधेसी भाषा (बज्जिका/मैथिली मिश्रण) मा भाषण गर्दा ‘दुई लाइन बोलेर मधेसी बन्न खोजेको’ भन्दै कटाक्ष गर्ने थापा, अहिले आफैँ मधेसी भाषामै निबन्ध शैलीको सन्देश लेखेर सर्लाहीका जनताको मन जित्ने कसरतमा लागेका छन्।
बालेन शाहले मधेस भ्रमणका क्रममा स्थानीय भाषामै सम्बोधन गरेपछि त्यसको निकै चर्चा भएको थियो।
थापाले बालेनको उक्त कदमलाई ‘खोक्रो लोकप्रियता’ को संज्ञा दिँदै दुई लाइन बोल्दैमा मधेसको समस्या समाधान नहुने टिप्पणी गरेका थिए। तर, विडम्बना कस्तो देखियो भने, अरूलाई कटाक्ष गर्ने थापा अहिले आफैँ सोही बाटोमा हिँड्न बाध्य भएका छन्।
हालै मधेसका जनतालाई लक्षित गर्दै थापाले मधेसी भाषामै लामो सन्देश सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा यसको व्यापक आलोचना र चर्चा भइरहेको छ। बालेनले बोल्दा ‘कटाक्ष’ गर्ने थापाले आफैँले निबन्ध जस्तो लामो मधेसी भाषाको सन्देश लेख्नुलाई धेरैले दोहोरो मापदण्ड र राजनीतिक विवशताका रूपमा लिएका छन्।
गगन थापाको यो कदमले मधेसको सेन्टिमेन्ट समात्न खोजेको त देखिन्छ, तर यसलाई ‘खोक्रो कुरा’ भन्दै आलोचना गर्नेहरूको जमात ठूलो छ। अर्काको प्रयासलाई व्यङ्ग्य गर्ने र पछि आफैँ त्यही बाटो पछ्याउने प्रवृत्तीले उनको राजनीतिक कदमा प्रश्नचिन्ह खडा गरिदिएको छ। मधेसको मुद्दा भाषामा मात्र सीमित नभई भावना र अधिकारमा जोडिनुपर्नेमा, थापाको यो ‘मधेसी भाषा मोह’ केवल चुनावी स्टन्ट जस्तो मात्र देखिएको छ।





प्रतिक्रिया दिनुहोस्