प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशका निर्वाचनसँग संवद्ध अधिकारी र सुरक्षा प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन्।
सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोशी प्रदेशको अवस्थाका बारेमा छलफल गरेकी हुन्।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरू, नेपाली सेना, सशस्त्र प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू, प्रमुख जिल्ला अधिकारीहरूको पनि उपस्थिति थियो।
कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरूस्त व्यवस्थापन गर्न निर्देशन दिइन्।
साथै उनले कुनै तत्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै त्यस्ता तत्वलाई निरूत्साहित गर्न पनि निर्देशन दिइन्। यसअघि आजै प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिको बारेमा जानकारी लिएकी थिइन्।
कोशी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदैछ। कोशी प्रदेशमा निर्वाचनका लागि ५१ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ। –न्युज एजेन्सी नेपाल





प्रतिक्रिया दिनुहोस्