काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले बिहीबार बिहानसम्म प्रत्यक्षतर्फका लागि आवश्यक कुल दुई करोड तीन लाख २३ हजार मतपत्रमध्ये एक करोड ५७ लाख ७८ हजार प्रति छापिसकिएको जानकारी दिएका छन्।
उनका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य भने यसअघि नै सकिएर जाँच समेत भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पनि पूरा भइसकेकाले आयोगले आजैदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य शुरु गरेको उनले बताए।
आयोगले कर्णालीसँगै सुदूरपश्चिम र कोसी लगायतका प्रदेशमा चरणबद्ध रूपमा मतपत्र पठाउने कार्ययोजना बनाएको छ। आगामी फागुन १२ गतेभित्र देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने लक्ष्यसहित काम भइरहेको कोइरालाले उल्लेख गरे।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हाल दैनिक १५ लाखका दरले मतपत्र छापिरहेको छ। बिहीबारसम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य समेत सम्पन्न भइसकेको छ। निर्वाचनको समय नजिकिँदै गर्दा आयोगले मतदाता शिक्षाका लागि नमुना मतपत्र यसअघि नै ७७ वटै जिल्लामा पठाइसकेको छ।





प्रतिक्रिया दिनुहोस्