काठमाडौं: नेपाल भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) मा दुई स्थान तल झरेर १०९औँ स्थानमा पुगेको छ। प्रभावकारी भ्रष्टाचार नियन्त्रणका उपाय कार्यान्वयन गर्न नसक्दा नेपाल अघिल्लो वर्षको १०७औँ स्थानबाट खस्किएको हो।
मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआईएन) ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२५ को प्रतिवेदनअनुसार नेपालले १०० मध्ये ३४ अंक प्राप्त गरेको छ, जुन अघिल्लो वर्षसरह नै हो। अंक यथावत रहे पनि अन्य देशहरूले सुधार गरेकाले १८० देशमध्ये नेपालको स्थान दुई स्थानले घटेको हो।
टीआईएनका अनुसार नेपालको प्रतिवेदन ‘जेन–जेड आन्दोलन’ अघिको भ्रष्टाचार अवस्थालाई आधार मानेर तयार गरिएको हो। प्रयोग गरिएका छ वटा सूचकमध्ये नेपाल एकमा सुधार, दुईमा गिरावट र तीनमा यथावत अवस्थामा रहेको उल्लेख छ।
व्यवसाय, ठेक्का तथा निर्यात–आयात गतिविधिसँग सम्बन्धित घुसखोरीको अवस्था यथावत रहेको छ। तर राजनीतिक गतिविधि, सरकारी कार्यसम्पादन, संसद, न्यायपालिका र सार्वजनिक संस्थामा भ्रष्टाचारको अवस्था झन् बिग्रिएको प्रतिवेदनमा उल्लेख छ। अख्तियार दुरुपयोग तथा सुरक्षा निकायसँग सम्बन्धित मुद्दामा भने सामान्य सुधार देखिएको छ।
दक्षिण एशियामा भुटानले ७१ अंकसहित सबैभन्दा उच्च स्थान हासिल गरेको छ। भारत र माल्दिभ्सले समान ३९ अंक, श्रीलंकाले ३५, पाकिस्तानले २८, बंगलादेशले २४ र अफगानिस्तानले १६ अंक प्राप्त गरेका छन्। चीनले ४३ अंक पाएको छ।
टीआईएनले दक्षिण एशियाली अधिकांश देशहरूमा राजनीतिक अस्थिरता, कमजोर सुशासन, पदको दुरुपयोग, दण्डहीनता र पारदर्शिताको अभावलाई मुख्य समस्याका रूपमा औंल्याएको छ।





प्रतिक्रिया दिनुहोस्