कैलाली । कैलाली–५ मा प्रतिनिधि सभाको निर्वाचनको गतिविधि तीव्र बन्दै गएको छ । अझ काँग्रेसबाट उम्मेदवारी दिएका नरनारायण शाह (मनु) ले माहोल तताएसँगै कैलाली–५ मा चुनावी माहोल थप तातेको छ । केही समयअघिसम्म पार्टीभित्र देखिएको आन्तरिक विभाजनकाबीच अब काँग्रेस कार्यकर्ता क्रमशः एकजुट हुँदै गएको संकेत स्थानीय राजनीतिमा देखिन थालेको छ ।
काँग्रेसको विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच देखिएको दुई धारको विवादले कैलाली–५ मा उम्मेदवारी कसले पाउँछ ? भन्ने विषयलाई लिएर पार्टीभित्र अन्योल सिर्जना भएको थियो । सो समयमा उम्मेदवारी वितरणपछि कार्यकर्ता विभाजित हुने र त्यसले चुनावी परिणाममा असर पार्ने चिन्ता समेत व्यक्त गरिएको थियो ।
तर अन्ततः मनु शाहले टिकट पाएसँगै पार्टीभित्रको असन्तुष्टि क्रमशः कम हुँदै गएको र संगठनात्मक एकता बलियो बन्दै गएको स्थानीय नेताहरू बताउँछन् ।
स्थानीय तहमा सक्रिय कार्यकर्ताहरूको सहभागिता बढ्दै जानुले काँग्रेसभित्र एकताको सन्देश प्रवाह भएको विश्लेषण गरिएको छ । यसअघि फरक–फरक धारमा देखिएका कार्यकर्ता पनि अहिले साझा लक्ष्यका लागि संगठित हुँदै गएको दृश्य देखिएपछि कैलालीमा शाहको उम्मेदवारीलाई विशेष रुपमा हेर्न थालिएको छ ।
मनु शाहको संगठनप्रति प्रतिबद्धता, स्थानीय मुद्दामा चासो र निरन्तरको राजनीतिक सक्रियताका कारण उनीप्रति कार्यकर्ताको भरोसा बढेको काँग्रेस वृत्तको बुझाइ छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार कैलाली–५ मा अहिले देखिएको काँग्रेसको एकताले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । आन्तरिक विवादपछि देखिएको यो एकजुटता पार्टीका लागि मात्र नभई समग्र चुनावी समीकरणमा पनि महत्वपूर्ण मानिएको छ ।
कैलाली–५ को निर्वाचन परिणामले यहाँको स्थानीय प्रतिनिधित्वसँगै पार्टीभित्रको आन्तरिक एकता कति प्रभावकारी रह्यो भन्ने सन्देश पनि दिने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्