अछामः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार दिपक साउँद ऋषिदह क्षेत्रबाट उत्साहित हुँदै फर्किएका छन्। घरदैलो कार्यक्रमका क्रममा ऋषिदहका जनसमुदायबाट अपेक्षाभन्दा बढी माया, समर्थन र भरोसा प्राप्त भएपछि आफू खुसी र भावुक बनेको साउँदले बताएका छन्।
फागुन २५ गते साँझ ऋषिदह क्षेत्रमा प्रवेश गरेका साउँदले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दुःख, पीडा र अपेक्षालाई नजिकबाट बुझ्ने प्रयास गरेका थिए। यस क्रममा स्थानीयले पटक–पटक निर्वाचित भएका नेताहरूले केवल झुटा आश्वासन मात्रै दिएको गुनासो राख्दै अब नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन्।
शिक्षा, खेलकुद र समाजसेवामा योगदान
राजनीतिमा नयाँ अनुहार भए पनि दिपक साउँदले अछाम जिल्लाको शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको स्थानीयको भनाइ छ। विद्यालय भवन निर्माण, खेलकुद संरचना विकास, द्वन्द्व तथा भूकम्प पीडितलाई राहत वितरणलगायत सामाजिक कार्यमा उनको सक्रिय भूमिकाको स्थानीयले खुलेर प्रशंसा गरेका छन्। यी योगदानका आधारमा ऋषिदहवासीहरूले अबको नेतृत्व साउँदलाई दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयले सक्षम, विकासमुखी र जेन–जी पुस्ताको भावना बुझ्ने युवा नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै साउँदप्रति समर्थन जनाएका छन्। “अबको भोट युवा उम्मेदवार दिपक साउँदलाई” भन्ने आवाज गाउँ–बस्तीमा गुन्जिन थालेको छ।
विकासका मुद्दामा स्पष्ट प्रतिबद्धता
उम्मेदवार साउँदले अछामको समग्र विकासका लागि रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। जनतासँग प्रत्यक्ष संवादबाट प्राप्त सुझावलाई नै आफ्नो कार्ययोजनाको आधार बनाउने उनको भनाइ छ।
मनबिरे बुढाको आशिर्वाद
ऋषिदह क्षेत्रका एमालेका खम्बा मानिने स्वर्गीय दलबहादुर बुढाका बुबा मनबिरे बुढाले उम्मेदवार साउँदलाई जितको शुभकामना तथा आशिर्वाद दिएका छन्। घरदैलोका क्रममा साउँद बुढाको घरमा पुगेर आशिर्वाद लिएका थिए। उक्त अवसरमा बुढाले ‘अबको समय युवाको हो, जनअपेक्षित काम गर्न सक्ने नेतृत्व आवश्यक छ,’ भन्दै साउँदलाई पूर्ण समर्थन जनाएको स्थानीय रमित साउँदले जानकारी दिएका छन्।
घरदैलो सँगै समस्या संकलन
चुनावी घरदैलो कार्यक्रमसँगै साउँदले जनताका समस्या संकलन गर्ने कामलाई पनि निरन्तरता दिएका छन्। कुन ठाउँमा के समस्या छ भन्ने विवरण डायरीमा टिप्दै खानेपानी, बाटोघाटो तथा सडक सञ्जालसम्बन्धी समस्या पहिचान गरिएको छ।
निर्वाचित भए पनि नभए पनि जनताका समस्या समाधानका लागि सधैं सक्रिय रहने प्रतिबद्धता साउँदले व्यक्त गरेका छन्।





प्रतिक्रिया दिनुहोस्