चालु आर्थिक वर्षको बजेटमा तीन वटा अर्थमन्त्री र तीन वटा सरकार संलग्न हुने भएका छन्।
अर्को अर्थमन्त्रीले ल्याएको बजेटमा आधा समय कार्यान्वयन गर्नुपर्ने भूमिकामा आएको अर्थमन्त्री रामेश्वर खनालले चालु वर्षको बजेट सही मूल्यांकन र विश्लेषणका आधारमा नआएको टिप्पणी गरे।
मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्ने क्रममा उनले बजेको स्रोतको यथार्थ विश्लेषण नगरेको र खर्चको पनि यथार्थ विनियोजन गर्न नसकेको आलोचना गरेका हुन्।
यस्तै आलोचना अघिल्लो पटक तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरेका थिए।
चालु वर्षको बजेट एमाले कांग्रेसको सरकारले ल्याएको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब रूपैयाँको बजेट ल्याएका थियो। त्यसपछि सरकार परिवर्तन भए पनि वर्तमान सरकारले सोही बजेट कार्यान्वयन गरेको छ।
अर्थमन्त्री खनालले संसदले पास गरेको बजेट १९ खर्ब ६४ अर्बको नै भएपनि कति खर्च गर्न सकिन्छ भन्ने मूल्यांकन अहिले गरिएको बताए। मध्यावधि समीक्षाबाट मुख्यतय उनले स्रोतको अधिक आंकलन गरिएको, खर्चमा प्राथमिकीकरण यथार्थमा हुन नसकेको, स्वास्थ्य मन्त्रालय लगायतका मन्त्रालयहरूले अनिवार्य दायित्व (स्वास्थ्य बीमा लगायतमा) यर्थाथ बजेट माग नगरेको र कम विनियोजन गरिएको, तयारी पूरा नभएका र टुक्रे आयोजनामा बजेट विनियोजन गरिएको बताए।
हरेक वर्ष बजेट कार्यान्वयन भएको ६ महिनापछि अर्धवार्षिक मूल्यांकन गरिन्छ। त्यस आधारमा कति आम्दानी र खर्च हुन्छ भनेर संशोधित आकलन गरिने गरिन्छ।
विष्णु पौडेलले प्रस्तुत गरेको बजेटको आकारमा ८६ प्रतिशत खर्च हुने अनुमान अर्थमन्त्री खनालले गरेका छन्।
चालु वर्ष १९ खर्ब ६४ अर्ब रूपैयाँको बजेट ल्याइएको थियो। अर्धवार्षिक समीक्षा मार्फत अर्थमन्त्री खनालले १६ खर्ब ८८ अर्ब रूपैयाँ बजेट कार्यान्वयन हुने अनुमान सार्वजनिक गरेका छन्। यो पौडेलले ल्याएको बजेटभन्दा २ खर्ब ७६ अर्ब रूपैयाँ कम हो।





प्रतिक्रिया दिनुहोस्