कैलाली-१ मा नयाँ र पुरानाबीच चुनावी भिडन्त

धनगढीः विगतका निर्वाचनको बिरासत कायम राख्ने र नयाँ बर्चश्व बनाउने नयाँ–पुराना दलबिचको रक्साकस्सीले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ। माघ घर्किनै लाग्दा राम्ररी घाम नझुल्किएपछि एकाएक बढेको चिसोकाबिच दल र उम्मेदवारहरुको आक्रामक प्रचारले चुनावी माहोल भने तातेको छ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलाली प्रदेशको अस्थायी र स्थायी राजधानी पनि हो। सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटा निर्वाचन क्षेत्र रहेको यो जिल्लाको नतिजाले प्रदेशमा कुन दल ठूलो हुने भन्नेसमेत निर्धारण गर्न सक्छ। त्यही कारण पनि यहाँ राजनीतिक दलहरुले घरदैलोसँगै पार्टीको शीर्ष नेतृत्व बोलाएर चुनावी सभाहरु गर्नेलगायत चुनावी प्रचारको रणनीति अपनाएको देखिन्छ।

SHIKHAR COOL TECH

अहिले उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन्। कतिपय उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत रहेर प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन्। थारु समुदायको बाहुल्यता रहेको कैलालीमा पाँचवटै निर्वाचन क्षेत्रमा प्रमुख दलहरुबिचनै जितका लागि प्रतिस्पर्धा हुने प्रारम्भीक आँकलन छ। सुदूरपश्चिमका नौ जिल्लामा १७ लाख १६ हजार ६६० मतदाता रहेको कैलालीमा मात्र पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन्। 

कैलाली-१ मा  काँग्रेस–एमाले, नेकपा र रास्बवपाबीच प्रतिस्पर्धी
कैलाली क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस २०५६ र नेकपा एमाले २०५१ सालको बिरासत फर्काउने दाउमा छन्। यहाँ त्यसयताका संसदीय चुनाव यी दुई दलले जितेका छैनन्। यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीसँगको एकीकरणपछि नेपाली कम्युनिष्ट पार्टी बलियो प्रतिस्पर्धी बनेको छ।

थारु मतदाताको बाहुल्यता रहेको यो क्षेत्रबाट २०७४ को चुनावमा रेशम चौधरी फरार अवस्थामै निर्वाचित भएका थिए। रेशमको अग्रसरतामा गठित नागरिक उन्मुक्ति पार्टीको गत स्थानीय र संसदीय चुनावमा यहाँ बलियो प्रभाव देखिएको थियो। तर नागरिक उन्मुक्ति अहिले छिन्नभिन्न अवस्थामा छ। जसको फाइदा उठाउँदै काँग्रेस–एमाले विरासत फर्काउने दाउमा छन्।

नागरिक उन्मुक्ति नेकपामा समाहित हुँदा उसका केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीमा लागेका छन्। रेशमले छुट्टै दल नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन्। काँग्रेसले तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०७० मा संविधान सभा सदस्य निर्वाचित जनकराज चौधरीलाई र एमालेले द्धारिकाप्रसाद न्यौपानेलाई र नेकपाले रामलाल डगौरालाई उम्मेदवार बनाएको छ। डगौरा टीकमपुरको नगर प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन्।

रेशमले पनि यो क्षेत्रबाट उम्मेदवारी दिएका थिए तर उनको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको छ। रेशमको पार्टीले स्वतन्त्र उम्मेदवार फागुराम डगौरालाई समर्थन गरेको छ।

यहाँ काँग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धी देखिएका छन्। यद्यपि गत चुनावको नजिताका आधारमा काँग्रेस र नेकपा प्रतिस्पर्धामा अगाडि छन्। तत्कालीन नाउपका कोषाध्यक्ष कोमल ज्ञवाली रास्वपाबाट, त्यसबेलाका जिल्ला अध्यक्ष प्रदिप चौधरी उज्यालो नेपाल पार्टी, नाउपामै आवद्ध बिमलकुमार डगौरा श्रम संस्कृति पार्टीबाट र फागुराम थारु स्वतन्त्र उम्मेदवार बनेका छन्। यो क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ जना प्रतिस्पर्धामा छन्।

गत निर्वाचनमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादी केन्द्रको समर्थनमा काँग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत र एमालेका तपेन्द्रबहादुर रावलले पाँच हजार ९१० मत पाएका थिए। समानुपातिकतर्फ नाउपाले २७ हजार ४०६, काँग्रेसले ११ हजार ३९५, तत्कालीन माओवादी केन्द्रले सात हजार ९९२, एमालेले पाँच हजार २१५ र एकीकृत समाजवादीले ७३३ मत पाएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार