जुन दिन सुनील थापाको निधन भयो, त्यसै दिन उनलाई चितामा जलाउने दृश्य सुटिङ हुँदै थियो

फिल्म ‘राम नाम सत्य’ को क्लाइमेक्स दृश्य सुटिङ हुँदै थियो।

प्राविधिकहरू कृत्रिम चिता तयार पार्दै थिए।

फिल्मको पटकथा अनुसार अभिनेता विराज भट्टले सुनील थापालाई चितामा जलाउनुपर्ने थियो।

यो शुक्रबार राति करिब १० बजेको कुरा हो। दिनभरिको सुटिङका कारण कलाकार र प्राविधिकहरू थाकिसकेकाले अभिनेता सुनील थापाले छायांकन रोक्दै भने, ‘बाँकी दृश्य भोलि बिहान गरौं।’

वरिष्ठ अभिनेता थापाले यति भनेपछि सबैले सहमति जनाए।

थापालाई चितामा जलाउने दृश्यमा शनिबार बिहान ८ सुटिङ गर्ने निर्णय गर्दै सबै जना आ–आफ्नो बाटो लागे।

तर नियति कस्तो भयो भने, आफूलाई चितामा राखेर जलाएको जुन सुटिङ सुनील थापाले शनिबार बिहान गर्ने भनेका थिए, त्यो यथार्थमा परिणत भइदियो।

उनी शनिबार बिहानै जिन्दगीको रंगमञ्चबाट सधैंका लागि विदा भए। हृदयघातका कारण निधन भएका थापा ६८ वर्षका थिए।

फिल्म ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दका अनुसार शनिबार बिहान पूर्वसहमति अनुसार सुटिङ सेटमा थापाको प्रतीक्षा हुँदै थियो।

विराज भट्ट मेकअप गर्दै थिए। त्यही बेला सुनील थापाको मृत्युको खबर फेसबुकमा देखेको माइकल बताउँछन्।

‘अघिल्लो रात नै हामी सुनील (थापा) दाइलाई चितामा जलाउने दृश्यको सुटिङ गर्दै थियो। राति ढिलो भइसकेकाले उहाँले नै भोलि बिहान गरौं भन्नुभएको थियो। तर भोलिपल्ट सुटिङ सेटमा प्रतीक्षा गरिरहँदा उहाँको मृत्युको खबरले हामी सबैलाई झस्काइदियो,’ माइकलले भने, ‘एकछिन त हावादारी हल्ला हो कि जस्तो पनि लाग्यो। हामीले कन्फर्म गर्न विभिन्न व्यक्तिसँग कुरा गर्यौं।’

‘नभन्दै हामी सबैलाई सुटिङ सेटमा पर्खाएर दाइ कहिल्यै नआउने गरी गइसक्नुभएछ,’ माइकलले भने।

पर्दामा एक खतरनाक ‘खलनायक’ को भूमिका निर्वाह गर्ने अभिनेताका रूपमा परिचित सुनील थापाका केही फिल्म अझै प्रदर्शन हुन बाँकी छन्। सुटिङको हिसाबले भने ‘राम नाम सत्य’ नै उनको अन्तिम फिल्म बन्न पुग्यो। यसअघि ‘एक्लो’ उनको पछिल्लो रिलिज फिल्म हो।

बलिउडका थुप्रै फिल्ममा समेत अभिनय गरेका थापालाई हामी धेरैलाई तुलसी घिमिरे निर्देशित ‘चिनो’ को ‘राते काइँला’ पात्रका रूपमा चिन्छौं।

उनले उक्त चरित्रलाई यति सजीव ढंगले निर्वाह गरेका थिए, त्यो चरित्र आज पनि दर्शकको मनमा स्थायी छाप छाड्न सफल छ।

आफ्नो शारीरिक बनावट, वजनदार आवाज र अभिनय शैलीका कारण नेपाली फिल्ममा मात्र होइन, बलिउडमा समेत प्रभाव जमाएका सुनील थापा केही समयअघि मात्र राज-डिके निर्देशित हिन्दी सिरिज ‘द फ्यामिली म्यान’ को तेस्रो शृंखलामा एक महत्त्वपूर्ण पात्रका रूपमा देखिएका थिए।

सुनीलको आत्मकथा लेखिरहेका लेखक विप्लव प्रतीकका अनुसार उनको पुर्ख्यौली घर पाल्पा हो। बुबा भारतीय सेनामा कार्यरत रहेकाले उनी मुम्बईमा हुर्किए।

कक्षा १० मा पढ्दादेखि नै उनी खेलकुद र कला क्षेत्रमा आकर्षित थिए। मुम्बईका चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल पनि खेले। त्यसैबीच मोडलिङ र फोटोग्राफीमा पनि लागे। फोटोग्राफरका रूपमा काम गर्दा गर्दै बलिउड अभिनेता देव आनन्दको प्रेरणाले अभिनय यात्रामा लागेको उनी निकटस्थहरू बताउँछन्।

सुनीलले अभिनय गरेको हिन्दी फिल्म ‘एक दुजे के लिए’ सुपरहिट भएपछि बलिउडमा उनको यात्रा तीव्र बन्दै गएको थियो। सन् १९८१ मा रिलिज भएको उक्त फिल्ममा कमल हासन शीर्ष भूमिकामा थिए।

त्यसपछि सुनीलले ‘आज की आवाज’, ‘मानव हत्या’, ‘मनु द ग्रेट’, ‘बन्धु’ लगायतका फिल्ममा अभिनय गरे। उनी सन् १९८० दशकको अन्त्यदेखि ९० दशकको सुरूवाततिर थुप्रै हिन्दी फिल्ममा देखिएका थिए।

बलिउडमा नाम र उचाइँ जमाउँदै गइरहेका बेला उनी एकाएक नेपाली फिल्ममा प्रवेश गरे।

फिल्म ‘मसाल’ बाट नेपाली फिल्ममा डेब्यू गरेका सुनीलले ‘चिनो’ प्रदर्शनमा आएपछि निकै चर्चा पाए।

उनले निर्वाह गरेको ‘राते काइँला’ पात्रले उनको करिअर मात्र उकासेन, नेपाली फिल्ममा खलनायक पात्रको परिभाषा नै बदलिदियो।

शिव श्रेष्ठ र भुवन केसी अभिनीत उक्त फिल्म रिलिजपछि सुनील नेपाली फिल्ममा सर्वाधिक खोजिने खलपात्र बन्न पुगे। उनले खलनायकलाई पनि नायकसरह सम्मान दिलाए।

‘राते काइँला’ पर्दामा केवल दुष्ट पात्र थिएनन्, उनको चरित्र आफैमा डरलाग्दो थियो। सुनीलले त्यो डरलाग्दो चरित्रमा पनि वास्तविकता भरे। बलिउडका खलनायकमा ‘शोले’ का गब्बर सिंहको जस्तो प्रभाव छ, नेपाली फिल्ममा ‘राते काइँला’ को त्यस्तै प्रभाव छ।

उक्त फिल्म सुपरहिट भएपछि सुनील यति व्यस्त भए, उनी दिनमा चार–पाँचवटा फिल्मको सेट धाउनुपर्ने अवस्था आयो। उनले एकैचोटि दर्जनौं फिल्ममा काम गरे र एक चरित्र अभिनेताका रूपमा लोभलाग्दो ख्याति कमाए।

‘ठूल्दाइ’, ‘यो मायाको सागर’, ‘जेठो कान्छो’, ‘कर्मयोद्धा’, ‘पापी मान्छे’, ‘देवर बाबु’, ‘कर्तव्य’, ‘कानून’, ‘गोर्खा पल्टन’, ‘प्रेम गीत ३’, ‘अञ्जिला’ लगायत थुप्रै फिल्ममा उनको प्रभावशाली उपस्थिति रह्यो। यसमध्ये कतिपय फिल्ममा उनी सकारात्मक भूमिकामा पनि छन्। जस्तै- ‘अञ्जिला’ मा गाउँका बूढा (मार्गदर्शक) बनेका छन् भने ‘क्याप्टेन’ मा फुटबल प्रशिक्षकको भूमिकामा छन्। त्यस्तै, ‘गोर्खा पल्टन’, ‘नोटबुक’ र ‘प्रेम गीत ३’ जस्ता फिल्ममा पनि सकारात्मक भूमिका निर्वाह गरेका थिए।

बलिउड छाडेर नेपाली फिल्ममा प्रवेश गरेका सुनीलले बेला बेला बलिउडमा पनि आफ्नो उपस्थिति जमाउन छाडेनन्।

सन् २०१४ मा रिलिज बलिउड फिल्म ‘मेरी कोम’ मा बक्सिङ खेलाडीको भूमिका निर्वाह गरेकी प्रियंका चोपडाको प्रशिक्षकका रूपमा सुनीलले आफ्नो पहिचानलाई नयाँ उचाइ दिए।

उनले हिन्दी बाहेक तमिल, तेलुगू र भोजपुरी फिल्ममा समेत काम गरेका छन्।

नेपाली टेली शृंखलाहरूमा पनि उनी निरन्तर देखिँदै आएका छन्। ‘मेरी बास्सै’ मा निर्वाह गरेको भूमिकाबाट उनी नेपालका घर घरमा चिनिए।

कलालाई साधना मानेर जीवन बिताएका सुनील वास्तविक जीवनमा अत्यन्त सरल, विनम्र र आत्मीय रहेको निर्देशक तुलसी घिमिरे बताउँछन्।

‘नेपाली फिल्म गरौं न भन्दा कहिल्यै नाइँ नभन्ने मान्छे थिए,’ घिमिरेले भने, ‘लामो समय मुम्बईमा बसेका भए पनि उनले नेपाली चरित्रमा आफूलाई ढाल्न गेटअपदेखि अभिनयसम्म खुब मिहिनेत गरे।’

उनी नेपाली फिल्मप्रति गहिरो भावना बोकेर आएको घिमिरे सम्झन्छन्।

तुलसी घिमिरेको रिलिज हुन बाँकी फिल्म ‘पहाड’ मा पनि सुनील थापाको अभिनय छ। ‘चिनो’ देखि ‘पहाड’ सम्मको यात्रा सम्झँदै घिमिरे भन्छन्, ‘राते काइँलाबाट पहाडको मुखियासम्म आइपुग्दा अभिनेताका रूपमा सुनील र निर्देशकका रूपमा म कति परिवर्तन भयौं भनेर हामी खुब कुराकानी गर्थ्यौं।’

पर्दामा कठोर र खुँखार देखिए पनि वास्तविक जीवनमा सुनील अत्यन्तै भावुक व्यक्ति रहेको घिमिरेको भनाइ छ।

‘नेपाली फिल्म क्षेत्रले त सुनीललाई मिस गर्ने नै छ, म व्यक्तिगत रूपमा पनि उनलाई खुब मिस गर्नेछु,’ घिमिरेले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार