धनगढी: नेकपा माओवादीका कैलाली-५ का उम्मेदवार बबरजङ्ग बहादुर सिंहले चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन्। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सिंहले भ्रष्टाचारमुक्त शासन, सामाजिक न्याय र जनमुखी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सिंहले राज्यसत्ता सीमित वर्गको हितमा मात्र केन्द्रित भएको आरोप लगाउँदै जनताको वास्तविक आवश्यकता सम्बोधन गर्ने नीतिगत सुधार अपरिहार्य भएको बताएका छन्। उनले सुशासन, पारदर्शिता र जवाफदेहितामार्फत राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ। सार्वजनिक शिक्षा सुधार, स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने, कृषकलाई अनुदान र बजार व्यवस्थापन गर्ने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि सारिएको छ।
त्यस्तै, महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याइने उल्लेख छ। भ्रष्टाचार, दलाली र कमिशनतन्त्रको अन्त्य गर्दै विकास निर्माणमा पारदर्शिता कायम गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
स्थानीय स्रोतसाधनको अधिकतम उपयोग, सडक, खानेपानी, सिँचाइ तथा ऊर्जा विकासलाई तीव्रता दिने उल्लेख गर्दै सिंहले “भोटसँगै विकास र सेवामा प्रतिबद्धता” आफ्नो मूल नारा रहेको बताएका छन्।





प्रतिक्रिया दिनुहोस्