घाइतेहरूले भने– चालकले मोड कटाउन नसक्दा बस भिरबाट खस्यो 

बिहीबार बिहान बित्थडचिर बझाङबाट बैतडीको पुर्चौडी नगरपालिका– ७ भौनी गाउँमा दुलही लैजान जन्ती पुग्यो । जन्तीको आगमनले भौनी गाउँको माहोल उल्लासमय थियो । गाउँले जन्तीमा रमाएका थिए । तर, त्यो माहोल साझ पर्दासम्म शोकमा परिणत भयो । 

‘अबेर साझ जन्ती लगेर भौनी गाउँबाट बित्थाचिर फर्किरहेको थियो, पवनदुत यतायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस । बसमा दुलहा, दुलहीबाहेक दुवै पक्षका झन्डै ५० जना सवार थिए । दुलहीको घरबाट जन्ती हिडेको १५ मिनेट मात्रै भएको थियो । सोही बसमै सवार दुलहीका काका अम्मरराज जोशीले भने, ‘उकालो सडकमा मोड आयो । चालकले मोड कटाउन सकेनन् । बस भिरबाट खस्यो ।’

SHIKHAR COOL TECH

दुलही पुगाउन गएका जोशी उक्त सडकमा नियमित ओहोरदोहोर गरिरहन्थे । बस भिरालोबाट खस्नै लाग्दा मैले ढोकाबाट हाम फाले । रुखमा अड्किएर म बाच्न सफल भएको छु’ उनले भने । उनी सामान्य उपचारपछि घर फर्किसकेका छन् । चालकको लापरबाहीले दुर्घटना भएको उनी बताउँछन् । 

दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये एक दुलही पक्षका पनि छन् । दुलहीका सहोदर भाइ सुशील जोशीको ज्यान गएको छ । 

दुर्घटनामा दुलहाका बुवा शंकरदत्त जोशी पनि घाइते छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको छ । घाइँते जोशीले भने, ‘जन्ती लगेर बित्थडचिर फर्किरहेका थियौं’, उनले भने, ‘सडक उकालो थियो । त्यसैमा मोड पनि आयो । ड्राइभरले बस मोड्न सकेनन् । सुरुमा बिस्तारै ब्याक भएको बस एक्कासी भिरालोमा खस्यो ।’ 

बस दुर्घटनामा घाइते भएर डडेल्धुरा अस्पतालमा उपचाररत पुर्चौडीकै चन्द्रा अवस्थीले चालकको लापरबाहीले बस भिरालोमा खसेको बताइन् । ‘उकालो सडकको मोडमा बस नघुमाएरै सिधै अगाडि लग्न खोजिएको थियो । मोड पुगेन, पछि मोड्नका लागि बस ब्याक गरियो । ड्राइभरले ओड लगाउन भनिरहेको थियो । भन्दाभन्दै बस भिरमा खसिहाल्यो’ उनले भनिन् । 

अर्का घाइते कमलप्रसाद जोशीले भने, ‘बस उकालोमा एक्कासी ब्याक भएको याद छ । त्यसपछि होस आउँदा झण्डै दुई सय मिटर तल थिए ।’ उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बझाङको बित्थडचीर गाउँपालिका–७ का बिसनदत्त जोशी, सोही ठाउँका २८ वर्षीय दिपकदत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी–७ का १४ वर्षका सुशील जोशी र बझाङको केदारस्यूका २६ वर्षका केशवराज भट्टको मृत्यु भएको छ । 

यस्तै बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका– ७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ का ४० वर्षीया पुष्पा अवस्थीको मृत्यु भएको छ । 

दुर्घटनामा ३४ जना घाइते छन् । घाइतेमध्ये पाँच जना गम्भीरको धनगढीमा उपचार भइरहेको छ भने २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यस्तै चार जना सामान्य घाइतेको भने बझाङको देउलेक स्वास्थ्य चौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार