सामाजिक सञ्जालको भ्युज र लाइक्सको पछाडि नकुदी प्रत्येक घरमा पुग्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘अबकी बार सय पार’ को नारा लगाएर चुनावी अभियानमा खट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । पोखरा पुगेका थापाले संगठनको तागतले मज्जाले बहुमत ल्याउन सकिने भन्दै घरघर जान आग्रह गरे ।उनले भने, ‘यो १६५ निर्वाचन क्षेत्रमा चुनाव लडेको नेपालको आजको एउटा मात्र पार्टी हो । कुनै अर्को पार्टी छैन, कांग्रेसको कुनै कार्यकर्ताले रुख चिन्हभन्दा बाहेक अन्त कतै पनि मत राख्न पाइँदैन । बन्द कोठाभित्र गएर कहीँ खासखुस गर्दैन । यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य हुँदैन । अब की बार यो सरकार भन्ने नारा लाउन छोडिदिनुस् । अब की बार सय पार भन्ने नारा लाउनुस् । मज्जाले सकिन्छ, बहुमतसम्म पुग्न सकिन्छ ।’
कांग्रेस १० लाख क्रियाशील सदस्य भएको पार्टी भन्दै उनले भने, ‘हिजो कांग्रेस पार्टी छोडेर जानुभएको साथीहरू, कुनै न कुनै कारणले जानुभएको छ, चित्त दुखाएर जानुभएको छ, मन दुखाएर जानुभएको छ । ती सबै साथीहरूलाई हृदय खुल्ला राखेर अब हामीले स्वागत गर्नुपर्ने छ । सबै साथीहरूलाई घर फर्क भन्नुपर्ने छ। यो घरमा जे कुरामा चित्त दुखाएर जानुभएको छ, तपाईँको चित्त दुख्नुपर्ने कारणहरूलाई सम्बोधन गर्ने प्रयास हामीले गरेका छौँ यो भनेर तपाईँहरूले फिर्ता बोलाउनु पर्नेछ।’
थापाले गएको चुनावमा पार्टीभित्र असन्तुष्टिको बीचमा पनि २७ लाख भन्दा बढी समानुपातिकमा मत पाएको बताए ।
उनले भने, ‘हल्लाबाट नतर्सिऔँ । पार्टीको सङ्गठनको तागत छ । तपाईँहरू सामाजिक सञ्जालमा एक्टिभ हुनुहुन्छ, क्रियाशील हुनुस् । तर नेपाली कांग्रेस पार्टी सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् । हाम्रो तागत भनेको हामी घर-घर पुग्न सक्छौँ । हामी गाउँ-गाउँ पुग्न सक्छौँ, टोल-टोल पुग्न सक्छौँ । अब हिजोको जस्तो चुनावी प्रचार प्रसारले हुँदैन । उम्मेदवार जहाँ भयो त्यहाँ सँगसँगै उम्मेदवार सँगसँगै घरदैलो भनेर हिँडेर हुँदैन । उम्मेदवार बरु ४ जना मान्छे लिएर बोकेर हिँडे हुन्छ, आफ्नो कुरा गएर हुन्छ।’
सामाजिक सञ्जालको भ्युज र लाइक्सको पछाडि मात्र कुदेर नहुने थापाको भनाइ छ ।
उनले थपे, ‘हाम्रो निर्वाचनको प्रचार प्रसार गर्ने तरिका हामीहरूले अलिकति बदल्नु पर्नेछ। एउटा पनि घर छुट्नु हुन्न। एउटा पनि मतदाता छुट्नु हुन्न। प्रत्येक मतदातासँग चुनाव अगाडि एक पटक राम्रोसँग, घरमा गएर नमस्कार, जय नेपाल भन्दै उम्मेदवारको अनुहार देखाउँदै एउटा पर्चा छाडेर हिँडेर हुँदैन अब । त्यहाँ बस्नुपर्छ, त्यहाँ कुरा गर्नुपर्छ, कुरा सुन्नुपर्छ, कुरा सुनाउनु पर्छ । उसले गाली गर्दा सुन्नुपर्छ। हामी गालीबाट भाग्ने मान्छे होइन । प्रश्नबाट भाग्ने शक्ति होइन । ‘





प्रतिक्रिया दिनुहोस्