अर्थशास्त्री मिना आचार्यको ८८ वर्षको उमेरमा निधन भएको छ।
विहीबार साँझ उनको निधन भएको हो। शुक्रबार बिहान पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ।
सन् २०६६ सालदेखि अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेकी आचार्यले २६ वर्ष नेपाल राष्ट्र बैंकमा काम गरिन्। उनले सुरूदेखि नै राष्ट्र बैंकको अनुसन्धान विभागमा काम गरेकी थिइन्।
उनले राष्ट्र बैंकको आर्थिक सल्लाहकार र प्रमुख आर्थिक सल्लाहकार हुँदै अनुसन्धान विभागको नेतृत्व गरेकी थिइन्।
राष्ट्र बैंकमै बहाल रहँदा उनी वर्ल्ड बैंकमा काम गर्न गएकी थिइन्। वर्ल्ड बैंकमा उनी वित्त विभाग प्रमुख भएर पाँच वर्ष काम गरेपछि अवकाश लिएकी थिइन्।
नेपालको आर्थिक विकास, श्रम बजार, गरिबी र लैंगिक समानताजस्ता विषयमा अध्ययन तथा अनुसन्धानमा काम गरेकी छन्। उनले आर्थिक विकास, गरिबी, लैंगिक समानता लगायतका विषयमा किताब, शोध अनुसन्धान तथा लेखहरू लेखेकी छन्। संयुक्त राष्ट्रसंघका विभिन्न कार्यक्रममा परामर्शदाता भएर लामो समय काम समेत गरेकी थिइन्।
सन् १९३८ मा काठमाडौंमा जन्मिएकी आचार्यले विद्यावारिधिसम्मको शिक्षा प्राप्त गरेकी थिइन्। सन् १९५८ मा काठमाडौँस्थित पद्मकन्या क्याम्पसबाट आइसकेकी उनी स्नातक गर्न भारतको दिल्ली गएकी थिइन्।
थप अध्ययनका लागि मिना १९६० मा तत्कालीन सोभियत संघ गएकी थिइन्। मस्को स्टेट युनिभर्सिटीबाट उनले इकोनोमिक साइबरनेटिक्समा स्नातकोत्तर गरेकी थिइन्। विकासशील देशहरूमा आर्थिक मोडेलहरूको कसरी प्रयोग भइरहेको छ भन्ने विषयमा मास्टर्स गरेकी उनले आर्थिक विकास विषयमा अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी थिइन्।





प्रतिक्रिया दिनुहोस्