पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा शुक्रबार पोखरा आएका छन् । उनलाई पोखरा विमानस्थलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका नेता तथा कार्यकर्ताले स्वागत गरे ।
विमानस्थलबाट थापा सिधै नेपाली कांग्रेस कास्कीको कार्यालय पुग्ने तालिका छ । त्यहाँ उनले पार्टीका अगुवा कार्यकर्ताहरूसँग भेटघाट गरी उनीहरूलाई सम्बोधन गर्नेछन् ।
कास्कीको कार्यक्रम सकिएपछि थापाले नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्नेछन् । सभापति थापाकै प्रमुख उपस्थितिमा शुक्रबार पोखरामा सो बैठक बस्ने तय भएको छ । बैठकमा गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका जिल्ला सभापति र आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।
यस पटकको बैठकमा प्रदेश कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका प्रत्यासीहरूलाई समेत उपस्थित हुन आग्रह गरेको छ ।
प्रदेश कार्यसमितिको बैठक सकिएपछि थापाले गण्डकी प्रदेशका जिल्ला सभापति र अन्य नेता कार्यकर्ताहरूसँग छुट्टै छलफल गर्ने जानकारी कांग्रेस गण्डकीले दिएको छ ।





प्रतिक्रिया दिनुहोस्