काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह गरेको छ । आयोगले बिहीबार (फागुन २२) एक विज्ञप्ति जारी गर्दै सम्बद्ध सबै पक्षलाई यस्तो आग्रह गरेको हो ।
आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले बिहीबार आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग अनुगमन/पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको जनाएका छन् ।
“निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन/प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
उमेदवारहरूले अर्को दल, नेता र उमेदवारप्रति अमर्यादित भाषा र घृणाजन्य अभिव्यक्ति दिएको अनुगमनबाट देखिएको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरूलाई ´कुन दल/नेतालाई भोट दिने ?´ भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो/अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लंघन गरेको पाइएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरूबाट उल्लंघन भएको भनी प्रश्न उठेको, निर्वाचनपूर्व अमूक उम्मेदवारले जित्छ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको, केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको आयोगले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्