‘स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ, सोसल मिडियामा हाहा हुहु गरेर केही हुँदैन’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही पनि नहुने टिप्पणी गरे ।
“स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ,” प्रचण्डले भने, “सोसल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन ।”
उनले निर्वाचन देशभर एकै चरणमा गर्न सरकारलाई आग्रह गरे । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने उनको भनाइ छ । “चुनाव एकै चरणमा होस् । चुनाव निष्पक्ष रूपमा हुने वातावरणको ग्यारेन्टी गरियोस्,” उनले भने ।
राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको प्रचण्डको भनाइ छ ।
“यो राष्ट्रले बुझिसकेको छ राष्ट्रलाई एकताबद्ध गर्न सक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरुद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरिका हाम्रा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ । त्यसकारण यो पटक सही किसिमले निर्वाचन हुँदा हामी यो पटक सही पोजिसनमा आउँछौँ,” उनले भने ।
फागुन २१ मै निर्वाचन हुने भन्दै कसैलाई पनि शंका नगर्न उनले आग्रह गरे । “अझै पनि कतिपय मान्छेहरूले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ । दोस्रो संविधान सभाको निर्वाचनको बेलमा पनि यस्तै अवस्था थियो,” प्रचण्डले भने, “हाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन् । म तपाईंलाई भन्न चाहन्छु । चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ ।”





प्रतिक्रिया दिनुहोस्