धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा यस पटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार, दल र मतदाता सबैको सङ्ख्या बढेको छ। क्षेत्रबाट नेकपा एमालेका उपमहासचिव लेखराज भट्टसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सबै उम्मेदवार अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन्।
पछिल्ला दुई निर्वाचन परिणमा हेर्दा यो क्षेत्रबाट २०७४ मा लेखराज भट्टले जित निकालेका हुन् भने २०७९ मा काँग्रेसका वीरबहादुर बलायरले।
फागुन २१ गते हुने २०८२ को निर्वाचनका लागि नेपाली काँग्रेसबाट गोरखबहादुर बिष्ट, नेकपा एमालेबाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेमराज कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल रजवार र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट अमृता भुल उम्मेदवार छन्।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम चौधरी, नेशनल रिपब्लिकन पार्टीबाट गोपीलाल चौधरी, मितेरी पार्टीबाट दिनेशकुमार मल्ल, नागरिक उन्मुक्ति पार्टी नेपालबाट धनबहादुर सुनार, नेकपा माओवादीबाट भक्तबहादुर शाही तथा नेकपा संयुक्तबाट मोहनदेव मिश्र चुनावी मैदानमा छन्।
यसैगरी, नेपाल मानवतावादी पार्टीबाट यज्ञबहादुर टमोटा, उज्यालो नेपाल पार्टीबाट सुभास कुँवर, राष्ट्रिय जनमोर्चाबाट हेमराज भट्ट, श्रम संस्कृति पार्टीबाट भिमबहादुर थापा मगर र स्वतन्त्रतर्फ छत्रबहादुर भट्ट खत्री उम्मेदवार छन्।
यो पटक दल र उम्मेदवार दुवै बढे
अघिल्लो निर्वाचनमा कैलाली–४ मा ९ दलका र एक स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए भने यस पटक १५ दलका र एक स्वतन्त्रसहित १६ उम्मेदवार चुनावी मैदानमा छन्। मतदाता सङ्ख्या पनि बढेर १ लाख १५ हजार १४३ पुगेको छ। २०७९ सालको निर्वाचनमा भने १ लाख १० हजार ४५३ मतदाता थिए।
विगतको चुनावी नतिजा
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टले विजय हासिल गरेका थिए। वाम गठबन्धनका उम्मेदवार भट्टले ३१ हजार ३५९ मतसहित जित निकालेका थिए। उनका निकटतम प्रतिद्वन्दि काँग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए।
यस्तै, २०७९ को निर्वाचनमा यो क्षेत्रमा काँग्रेस-माओवादी र समाजवादीले गठन्धन गर्दै काँग्रेसका वीरबहादुर बलायरलाई जित दिलाएका थिए। बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका लेखराज भट्टले २२ हजार ५८७ मत पाएका थिए। यो पटक भने सबै दल अलग-अलग प्रतिस्पर्धामा उत्रिएका छन्।
यस पटक मतदाता संख्या करिब ४ हजार ६९० ले बढेको छ भने दल र उम्मेदवारको वृद्धि, नयाँ दलहरूको प्रवेश र जेन्जी आन्दोलनका कारण कैलाली–४ को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ।





प्रतिक्रिया दिनुहोस्