झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं. ९२६ बाट काठमाडौं जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका– २ की २६ वर्षीया रोशनी बुढा लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् ।
भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रूपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार साढे ५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनको बयानका आधारमा लागुऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौंमा पक्राउ गरिएको उनले जानकारी दिए ।
काठमाडौंस्थित लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका– ६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका– ५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्