धनगढीः २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका चार जिल्लामा विशेष सुरक्षा व्यवस्था मिलाइने भएको छ। विगतका निर्वाचनका घटनाहरूलाई आधार मानेर बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंवेदनशील जिल्लाको सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ। ती जिल्लाका मतदानस्थल र मतदान केन्द्रमा कडाइका साथ सुरक्षा व्यवस्था लागू गरिनेछ।
यसैबीच, प्रदेशको चुनाव केन्द्रित सुरक्षा अवस्थाको समग्र विश्लेषणका लागि एआईजी हिमालय श्रेष्ठको नेतृत्वमा विशेष टोली धनगढी पुगेको छ। प्रहरी प्रधान कार्यालयले पठाएको उक्त टोलीले प्रदेशको सुरक्षा अवस्था मूल्यांकन गर्दै जनशक्ति परिचालनलगायतका विषयमा अध्ययन गर्नेछ।
चुनावी सुरक्षाका लागि प्रदेशभर सात हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। यसअन्तर्गत ७ हजार ५८ जना नेपाल प्रहरी, १३ हजार ६६९ जना निर्वाचन प्रहरी र १ हजार ५१९ जना सशस्त्र प्रहरी परिचालन गरिनेछ।
सुदूरपश्चिममा कुल १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ३०० मतदानस्थल सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील छन्। मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा परेका छन्। सुरक्षा मापदण्डअनुसार सामान्य मतदान केन्द्रमा पाँच, संवेदनशीलमा छ र अतिसंवेदनशील मतदान केन्द्रमा १० जना प्रहरी परिचालन गरिनेछ।





प्रतिक्रिया दिनुहोस्