कांग्रेसमा विवाद कायमै : टिकट पाउने घरदैलौमा, नपाउनेलाई अझै सर्वोच्चकै आस!

जेनजी आन्दोलनको म्यान्डेटअनुसार आफूलाई रूपान्तरण र पुस्तान्तरण गरेर चुनावमा होमिएको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस अझै दुईचिरा छ ।

चुनावी माहोल गर्माउँदै गर्दा कांग्रेस एकढिक्का हुन नसक्दा त्यसको असर परिणाममा देखिने पक्का छ । विशेष महाधिवेशनमार्फत् गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेर पार्टी चुनावमा होमिँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने अझै विशेष महाधिवेशनलाई स्विकारिसकेको छैन ।

SHIKHAR COOL TECH

निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । तर, कानुनी विवाद यथावत् राख्दै देउवा पक्ष पनि चुनावमा त होमिएको छ, तर सुस्त गतिमा ।

विशेष गरी निवर्तमान सभापति देउवा चुनावप्रति मौन छन् । जबरजस्ती नेतृत्व छाड्नुपर्दाको आक्रोश र चिन्ता भए पनि ५ माघसम्म देउवा डडेल्धुराबाट चुनाव लड्न इच्छुक नै थिए ।

तर, सभापति थापाले उनलाई टिकट नै दिएनन् । अन्तिम पटक चुनाव लड्ने चाहनामा रोक लागेसँगै उनले न चुनावबारे सार्वजनिक अभिव्यक्ति दिएका छन्, न त पार्टीका लागि भोट नै मागेका छन् । सर्वोच्चबाट पार्टी सत्ता फर्किनेमा देउवा समूह आशावादी छ भने प्रतिनिधिसभा पुनस्र्थापना हुन सक्ने झिनो आशा पनि कायमै देखिन्छ ।

टिकट वितरणमा देउवा समूह धेरै कटौतीमा परेपछि अन्य नेताहरू पनि थापा नेतृत्वको न विरोध गर्न सकिरहेका छन्, न पार्टीलाई सहयोग गरिरहेका छन् । टिकट पाएकाहरू चुपचाप चुनावमा खटे पनि टिकट नपाएकाहरू आफ्नो जिल्ला गएका छैनन् ।

संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने लक्ष्यसहित अघि बढेका सभापति थापाले संसदीय दलमा देउवा पक्षलाई थोरै संख्यामा टिकट दिएका छन् । १६५ मध्ये देउवा पक्षका ३२ जनालाई मात्रै उम्मेदवार बनाइएको छ । त्यसैगरी, शेखर कोइराला पक्षधर १३ जना उम्मेदवार छन् भने थापाले आफू पक्षधर १२० जनालाई उम्मेदवार बनाएका छन् ।

कांग्रेसमा यसअघि गुट, उपगुट र व्यक्तिपिच्छे भागबन्डामा टिकट वितरण हुने गरेकामा यस पटक थापाले देउवा र कोइराला पक्षलाई साइजमा राखेका छन् ।

नेतृत्व परिवर्तनले पार्टीमा ल्याएको असन्तुष्टि र बिनागठबन्धन चुनावमा जाँदा विगतमा पहिलो दलका रूपमा रहेको कांग्रेसको विरासत जोगाउनुपर्ने चुनौतीमा थापा नेतृत्वको कार्यसमितिलाई छ । सँगै नयाँ दलहरूप्रति देखिएको जनलहर पनि कांग्रेसको अर्को चुनौती हो ।

सतहमा हेर्दा शीर्ष तहमा मात्रै विवाद भएजस्तो देखिए पनि कांग्रेसको जिल्ला तहमा पनि एकता हुन नसकेको स्वयं कांग्रेसका नेता, कार्यकर्ताहरू नै बताउँछन् । कांग्रेस सभापति थापाले बारम्बार पार्टीका औपचारिक फोरमहरूमा चुनावअघिको गठबन्धनको विरोध गर्दै आएका थिए ।

सभापति बन्नुअघि नै महामन्त्रीको हैसियतमा पनि उनले महासमितिदेखि केन्द्रीय समिति बैठकसम्म चुनावअघिको गठबन्धन नगर्ने प्रस्ताव लगेका थिए । सभापति हुनासाथ उनले कतै गठबन्धन नगरी १६५ वटै क्षेत्रमा उम्मेदवार उठाएका छन् । सबै दल एक्लाएक्लै चुनाव लडे कांग्रेसले बहुमत ल्याउने थापाको पुरानो आकलन यस पटक कति सार्थक हुन्छ भन्ने चुनावको नतिजापछि नै थाहा हुनेछ ।

मतदाता फकाउँदै कोइरालाको चिठी
मोरङ–६ बाट उम्मेदवार बनेका नेता डा। शेखर कोइरालाले मतदाता फकाउँदै घरघरमा चिठी पठाउन थालेका छन् । कांग्रेसका शीर्ष नेताले मतदातालाई घरघरै चिठी पु¥याउनुलाई चासोसाथ हेरिएको छ ।

उनले भ्रष्टाचार निर्मूल नगरी विकास सम्भव छैन भन्ने आफ्नो मान्यता रहेको भन्दै त्यसका निम्ति आफूलाई भोट दिन आग्रह गरेका छन् । उनले नयाँ–पुराना सबै दल भोट माग्न आउने भन्दै राष्ट्रियता र लोकतन्त्रको रक्षार्थ कांग्रेसको इतिहास सम्झेर भोट हाल्न मतदातालाई आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार