काठमाडौं : आईसीसी टी-२० विश्वकपको तयारीलाई अन्तिम रूप दिन भारतको चेन्नई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो वार्मअप खेल खेल्दैछ।
मुम्बईमा अभ्यास सत्र सकेर चेन्नई झरेको नेपालले आज चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल चेन्नईस्थित एमए चिदम्बरम रङ्गशाला (चेपक)मा साँझ ५ः१५ बजे सुरु हुनेछ।
नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेल बिहीबार क्यानडासँग खेल्नेछ। दुवै अभ्यास खेल विश्वकपका मुख्य खेलहरू सञ्चालन हुने एमए चिदम्बरम मैदानमै हुनेछन्।
नेपालले आगामी फेब्रुअरी ८ मा डिफेन्डिङ च्याम्पियन तथा बलियो टोली इङ्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्राको औपचारिक सुरुवात गर्नेछ।
नेपाल प्रतियोगिताको समूह ‘सी’ मा रहेको छ। यो समूहमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।
तालिका अनुसार नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०१४ र २०२४ पछि नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो।
विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।





प्रतिक्रिया दिनुहोस्