धनगढी । चुनाव नजिकिएसँगै सुदूरपश्चिमको राजधानीको विषय फेरि चर्किएको छ । विशेषगरी डोटी र डडेल्धुराका उम्मेदवारहरुले प्रदेश राजधानीको विषयलाई चुनावी एजेन्डाका रुपमा स्थापित नै गरेका छन् ।
अझ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसबाट डोटीमा उम्मेदवारी दिएका भरत बहादुर खड्काले राजधानीको विषय चर्कोसँग उठाएका छन् ।
खड्का तीनै व्यक्ति हुन्, जो दिपायलबाट राजधानी कैलाली ल्याउनुपर्छ भन्ने पक्षमा लागेको आरोप लागेको थियो ।
तर उक्त आरोपमा कुनै सत्यता नभएको खड्काले प्रष्टिकरण दिएका छन् । उनले आफूले राजधानी नसार्ने बरु दिपायलमै राजधानी रहन दिने विषयमा अडान लिएको दाबी गरेका छन् ।
यद्यपि डोटीबासीले राजधानी सार्नमा खड्काले भूमिका खेलेको आरोप लगाएका थिए । हाल उनै भरत बहादुर खड्का डोटीमा उम्मेदवार छन् ।
हरेक पटक उम्मेदवारले राजधानीको विषयलाई लिएर जनता झुक्याउने गरेको आरोप लागिरहेको बेला यसपाली पनि प्रदेश राजधानीको विषय जोडदारसँग उठाइरहेका खड्कामाथि राजधानीको मुद्दा उठाएर फेरि जनतालाई भ्रममा पार्न खोजेको आरोप लागेको छ ।
डोटीका बासिन्दाले राजधानीको मुद्दालाई भावनात्मक विषयका रूपमा लिँदै आएका छन् । यही भावनालाई प्रयोग गर्दै खड्काले राजधानी डोटीमै हुनुपर्ने आशयका अभिव्यक्ति दिनु जनतालाई झुक्याउने प्रयास भएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
नोट: यसअघि ‘खड्का तीनै व्यक्ति हुन्, जो दिपायलबाट राजधानी कैलाली ल्याउनुपर्छ भन्ने पक्षमा लागेको आरोप लागेको थियो ।‘ हुनुपर्नेमा अन्यथा हुन गएकाले क्षमा याचनासहित सच्याएका छौँ।– सम्पादक





प्रतिक्रिया दिनुहोस्