काठमाडौं निर्वाचन क्षेत्र शृंखला
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को एउटा विशेषता छ — यो महानगरपालिकाका सबभन्दा बढी वडा समेटिएको क्षेत्र हो।
२०६४ सालको निर्वाचन अघिसम्म वामपन्थीको विशेष प्रभाव क्षेत्र मानिएको काठमाडौं–८ मा २०६४ पछिका चुनावमा मिश्रित परिणाम आएको छ। र, वामपन्थी मत क्रमशः खण्डित र विभक्त हुँदै गएको देखिन्छ। २०७९ को निर्वाचनमा त यहाँ एमालेलाई जमानत जोगाउनै धौधौ परेको थियो।
काठमाडौं–८ मा महानगरका १३, १५, १९, २०, २३ र २४ नम्बर वडा समेटिएका छन्। काठमाडौं–८ बाहेक अन्य निर्वाचन क्षेत्रमा महानगरभित्रका यति धेरै वडा समेटिएका छैनन्।
काठमाडौं–८ मा अर्को पनि विशेषता छ — यो काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये मतदाता संख्याका हिसाबले काठमाडौं–१ पछि दोस्रो सानो क्षेत्र हो।
यहाँ ५७ हजार ८११ मतदाता छन् भने २३ मतदान स्थल र ६५ वटा केन्द्र तोकिएका छन्।
यस निर्वाचन क्षेत्रमा सघन सहरी बसोबास छ। रैथाने नेवार समुदायको बाहुल्य छ। यहाँ काठमाडौंको भित्री सहर र नयाँ आवादीको मिश्रण पाइन्छ। त्यसैले पनि यहाँको निर्वाचन परिणाम अदलबदल भइरहन्छ।
हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर स्वयम्भू, सीतापाइलादेखि काठमाडौंको वसन्तपुरसम्म पूर्व–पश्चिम फैलिएको यो निर्वाचन क्षेत्र धार्मिक, पुरातात्त्विक र सांस्कृतिक कलाकौशलको संगम र वैभवका रूपमा पनि परिपूर्ण छ।
यो निर्वाचन क्षेत्रबाट २२ जना उम्मेदवार मैदानमा छन्। तीमध्ये १७ जना विभिन्न दलका तर्फबाट उम्मेदवार बनेका छन् भने पाँच जना स्वतन्त्र उम्मेदवार छन्।
यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुरानै अनुहार मैदानमा उतारेको छ। उज्यालो नेपाल, श्रम संस्कृति, राष्ट्रिय मुक्ति आन्दोलन पार्टी जस्ता नवोदित दलमा नयाँ अनुहार देखिनु स्वाभाविकै भइहाल्यो।
नेपाली कांग्रेसले यसपटक सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ। दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीकी पत्नी सपना कांग्रेस महासमिति सदस्य हुन्।
२०६४ को निर्वाचनयता यो क्षेत्रबाट जोशी परिवारका सदस्य छुटेका छैनन्। कांग्रेस राजनीतिमा नवीन्द्रराज जोशीको विरासत नै तयार भएको छ। उनी २०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका थिए। २०६४ र २०७० को दुईवटा संविधानसभा निर्वाचनमा उनी काठमाडौं–८ बाट सभासद निर्वाचित भए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने एमालेका जीवनराम श्रेष्ठसँग पराजित भएका थिए।
२०७४ को स्थानीय तह निर्वाचनमा उनका भाइ राजुराज जोशी काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भए।
२०७९ सालको निर्वाचनपूर्व नै नवीन्द्रराज जोशीको निधन भयो। उनको निधनपछि पत्नी सपना राजभण्डारीलाई कांग्रेसले समानुपातिकतर्फ सांसद बनायो। भाइ राजुराज काठमाडौं–८ (१) बाट प्रदेशसभा उम्मेदवार बने र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यसँग पराजित भए।
नेकपा एमालेले भने पूर्व प्रदेशसभा सदस्य राजेश शाक्यलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय युवा संघ नेपालमा आबद्ध भई राजनीतिमा प्रवेश गरेका शाक्य पार्टी भूगोलका क्रियाशील सदस्य हुन्।
उनी २०७४ सालको पहिलो प्रदेशसभा निर्वाचनमा काठमाडौं–८ (१) बाट निर्वाचित भएका थिए। त्यति बेला उनले नेपाली कांग्रेसका राज्यलक्ष्मी श्रेष्ठलाई पराजित गरेका थिए। शाक्यले ७ हजार ७८० मत ल्याएका थिए भने श्रेष्ठले ६ हजार १७६ मत प्राप्त गरेकी थिइन्।
२०७९ को प्रदेशसभा निर्वाचनमा भने शाक्य यही क्षेत्रबाट पराजित भए। उक्त निर्वाचनमा पहिलो पटक चुनावमा भाग लिएको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य ५ हजार ४७० मतसहित निर्वाचित भएका थिए। निकट प्रतिद्वन्द्वी शाक्यले ३ हजार ७१८ मत ल्याएका थिए। तेस्रो भएका नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७३ मत ल्याएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित विराजभक्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
विवेकशील अभियानमार्फत् पार्टी राजनीतिमा आएका श्रेष्ठ २०७४ सालका प्रदेशसभा सदस्य हुन्। उनी विवेकशील साझा पार्टीका तर्फबाट बागमती प्रदेशसभा सदस्य थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनअघि रास्वपा प्रवेश गरेका विराजभक्त १० हजार ११२ मतसहित सांसद निर्वाचित भएका थिए। दोस्रो भएका हाम्रो नेपाली पार्टीका सुमन सायमिले ६ हजार १७९ मत ल्याएका थिए।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवार जीवनराम श्रेष्ठले ४ हजार ८८१ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले ४ हजार ३८८ मत ल्याएका थिए।
त्यस्तै, नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३ हजार ८९१ मत ल्याएका थिए। बाँकी उम्मेदवारले एक हजार मत कटाएका थिएनन्।
अघिल्लो निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट उठेर दोस्रो भएका सुमन सायमि यसपालि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन्।
काठमाडौं उपत्यकाको मौलिक सम्पदा जगेर्नामा क्रियाशील हुनुका साथै स्थानीयको उठिबास लगाउने गरी सडक विस्तार गर्न नहुने भन्दै सरकारी कदमविरूद्ध संघर्ष गर्दागर्दै सायमिले अभियन्ताको छवि बनाएका थिए। यही परिचयबीच उनी २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए।
सडक किनारका बस्ती खाली गराउने सरकारी कदम रोक्न खोज्दा पटक पटक प्रहरी हिरासतमा समेत पुगेका सायमिले १३ हजार ७७० मत ल्याएका थिए। त्यस चुनावमा काठमाडौं महानगपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका थिए।
२०७९ कै प्रतिनिधिसभा निर्वाचनमा सायमि हाम्रो नेपाली पार्टी प्रवेश गरे। बालेन शाहको विजयबाट प्रेरित भएर उक्त पार्टी खोलिएको थियो। पार्टीमा बालेनलाई चुनाव जिताउन भूमिका खेल्नेहरू नै थिए। र, बालेनकै चुनाव चिह्न लौरे लिएर उनीहरू निर्वाचनमा गएका थिए।
काठमाडौं–८ मा राप्रपाको पनि प्रभाव छ। राप्रपाले यसपालि नवीन शाहीलाई उम्मेदवार बनाएको छ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेभन्दा बढी मत ल्याएको राप्रपाले काठमाडौं–८ (२) मा जित निकालेको थियो। यहाँ राप्रपाका उद्धव थापा निकै फराकिलो मतान्तरले विजयी भएका थिए। उनले ३ हजार ३४९ मत ल्याउँदा दोस्रो भएका एमालेका निमा छ्याम्छो तामाङले १ हजार ९१६ र कांग्रेसका अमिन पाण्डेयले १ हजार ८३९ मत ल्याएका थिए।
गत निर्वाचनको विश्लेषण गर्दा काठमाडौं–८ मा रास्वपा, कांग्रेस, एमाले र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरभित्र पर्ने कालिमाटी (वडा नम्बर १३), १५ (डल्लु), १९ (यट्खा), २० (भीमसेनस्थान), २३ (ओमबहाल) र २४ (मखन) पर्छन्।
यसमध्ये वडा नम्बर १३ मा एमाले बलियो देखिन्छ। २०७९ को निर्वाचनमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १२४ मतका साथ वडाध्यक्ष निर्वाचित भएका थिए। वडा नम्बर १५ मा एकीकृत समाजवादीका ईश्वरमान डंगोल दोहोर्याएर वडाध्यक्ष निर्वाचित भएका थिए। उनी पनि फराकिलो मतान्तरले नै निर्वाचित भएका थिए।
वडा नम्बर १९, २० र २४ मा कांग्रेस निर्वाचित भएको थियो भने २३ मा एमाले निर्वाचित भएको थियो।
त्यस्तै, नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा पनि यस निर्वाचन क्षेत्रमा पर्छन्। यीमध्ये ४ नम्बर वडा कांग्रेसले जितेको थियो भने ५ नम्बर वडा राप्रपाले जितेको थियो।
विगतको विश्लेषण गर्दा २०४८ सालको निर्वाचनमा यस क्षेत्रमा काठमाडौं–४ का केही हिस्सा थिए। तत्कालीन समय काठमाडौं–४ बाट तत्कालीन वाम मोर्चाकी प्रमुख सहाना प्रधान निर्वाचित भएकी थिइन्। २०५१ सालको मध्यावधि निर्वाचनमा यो क्षेत्र काठमाडौं–६ को हिस्सा बनेको थियो। त्यस निर्वाचनमा पनि यहाँबाट एमाले नेता सहाना प्रधानले नै जितेकी थिइन् भने २०५६ सालको निर्वाचनमा यहाँबाट अष्टलक्ष्मी शाक्य निर्वाचित भइन्। त्यस निर्वाचनमा एमाले विभाजन भएको थियो। प्रधान मालेतिर लागेकी थिइन्।
२०१५ सालको पहिलो संसदीय निर्वाचनमा भने यो ठाउँ कान्तिपुर निर्वाचन क्षेत्रमा पर्थ्यो। यहाँबाट ‘लौहपुरूष’ उपनाम पाएका कांग्रेस नेता गणेशमान सिंहले चुनाव जितेका थिए।
वाम र कांग्रेसको छुट्टाछुट्टै विरासत बोकेको यस क्षेत्रबाट विराजभक्त श्रेष्ठ जनप्रतिनिधिका रूपमा उदाएका थिए। आफ्ना समुदायमा अन्तरघुलित र विकास–निर्माणमा समेत अगुवाइ गरिरहेका श्रेष्ठ दोस्रो पटक सांसद जित्ने दौडमा छन्। उनलाई सायमिले चुनौती दिइरहेका छन्। कालिमाटीका रैथाने सायमिको घर कुनै बेला वाम नेताहरूको सेल्टर समेत थियो।
एमालेको मताधार क्षेत्रबाटै सायमि उम्मेदवारका रूपमा खडा भएपछि एमालेको मत बाँडिने आकलन गरिएको छ। सहरी समस्यामा स्थानीयको पक्षमा उभिँदै बहस, पैरवी गर्दै आएकाले पनि सायमिलाई बलियो प्रतिस्पर्धी मानिएको छ।
अर्कातिर यहाँ साबिक विजेता विराजभक्तको लोकप्रियता घटेको छैन। स्थानीय स्तरमा हुने कार्यक्रमहरूमा सरिक भइरहने बानीले पनि उनलाई स्थानीय मतदातामाझ परिचित बनाएको छ।
त्यसबाहेक कांग्रेस सपना राजभण्डारी र एमालेका राजेश शाक्यको पनि यहाँ आफ्नै परम्परागत पकड छँदैछ।
काठमाडौंको पश्चिमी भेगमा राप्रपा समेतको प्रभाव बलियो रहेकाले उसलाई पनि कम आँक्न नमिल्ने स्थानीय मतदाताको बुझाइ देखिन्छ।
चार पक्षीय प्रतिस्पर्धामा कसको पल्लाभारी हुने हो, मतदाताको पर्खाइको विषय बनेको छ।





प्रतिक्रिया दिनुहोस्