धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रोशन शाही उम्मेदवार छन्। धनगढी-१ शिवनगरका शाही अहिले घरदैलोमा व्यस्त छन्।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर ५ बाट पाँच जना सिफारिस भएका थिए। पार्टीले यो पटक युवातर्फ सिफारिस भएका शाहीलाई टिकट दिएको हो
धनगढीमा विभिन्न सामाजिक कार्यमा सक्रिय शाहीले २०७९ को स्थानीय तहको निर्वाचनमा धनगढी-१ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त चुनावमा सम्मानजनक मत ल्याएको बताउने शाही चुनाव लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका आवद्ध भएका हुन्।
शाहीले २०८८ का लागि तयारी गरिरहेको भए पनि जेन्जी आन्दोलनका कारण २०८२ मै प्रतिनिधि सभा सदस्यका लागि मैदानमा भिड्नु परेको बताएका छन्। उनले भने, ‘म धनगढीमा व्यवसाय र सामाजिक काम गर्दै आएको युवा हुँ। मैले २०८८ सम्म चुनाव लड्ने गरी तयारी गरिरहेको थिएँ, तर, जेन्जी आन्दोलनले मलाई २०८२ मै उम्मेदवार बनायो। पार्टीले युवालाई मैदानमा उतार्ने भनेपछि मैले टिकट पाएको हुँ।’
शाहीले क्षेत्र नम्बर ५ पर्ने धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिको दुई वडामा घरदेलौ गरिरहेको बताएका छन्। उनले युवाभन्दा ४० वर्षमाथिको मतदाताले राप्रपाको एजेण्डा समर्थन गरेको बताएका छन्। ‘युवाहरू अहिले बरालिएका छन्। उहाँहरू हाम्रो कुरा सुन्नसमेत तयार छैनन् तर ४० वर्षमाथिको सर्वसाधारणले हामीलाई माया गरिरहेका छन्,’ उनले भने, ‘हाम्रो पार्टीले उठाएको राजसंस्था र हिन्दु अधिराज्यको मुद्दालाई वयस्कहरू मन पराएका छन् तर युवाहरूलाई यसको महत्व बुझाउन सकिएको छैन।’
शाहले राप्रपाको एजेण्डा राष्ट्र र राष्ट्रियताका लागि राम्रो भएको दाबी गरेका छन्। उनले यो एजेण्डामा मुलुक अगाडि बढ्न सके विकास र समृद्धि हासिल हुने उनको तर्क छ। ‘राष्ट्र पहिले हो, राष्ट्र जोगाउन राजसंस्था आवश्यक छ, राजसंस्था पुनरस्थापना गर्न राप्रापलाई मत दिनुपर्छ भनेर भोट मागिरहेको छु,’ उनले भने, ‘राजसंस्था पनि शक्ति हो, त्यसलाई उचित स्थान दिएर अगाडि बढ्नुपर्छ भन्दै हामीले मतदातालाई सुसूचित गरिरहेका छौँ। उहाँहरूले कुरा बुझ्नु भएको छ।’
अहिले निर्वाचन आचारसंहिताको ख्याल गर्दै घरदैलोमै पुगेर मतदातासँग कुराकानी गरिरहेको शाहीले बताएका छन्। उनले फागुन २१ गते आफूलाई मत हाल्ने किसिमले चुनावी माहोल निर्माण हुने विश्वास गरेका छन्।





प्रतिक्रिया दिनुहोस्