नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश र स्थानीय निर्वाचनभन्दा पहिला नै कांग्रेसको नियमित महाधिवेशन भइसक्ने बताएका छन्।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्।
उनले नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गरे।
उनले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताए।
पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै विगतको जस्तो ६०/४० को भागबण्डा अब सकिएको बताए।
कांग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गरे।
सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्ने बताए।
उनले भने, ‘अब नयाँ स्थानीय चुनावभन्दा नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ। नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीका सबै कुराहरू, चुनावको टिकट प्राइमरीबाट वडाको साथीहरूले छान्नुहुन्छ, तलको साथीहरूले छान्नुहुन्छ। प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु पर्दैन। पार्टीमा कुनै गुट पनि छैन। हिजोको जस्तो ६०/४० सकियो अब। कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन। सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्छ। नागरिक र पार्टीलाई बलियो बनाउने अभिायन पार्टीभित्र सुरू भएको छ। यो बदलिँदो कांग्रेस हो। पार्टी सभापतिको अँध्यारो कोठामा कोहीसँग पनि सम्बन्ध हुँदैन।’
सभापति थापाले कांग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताए। बदलिएको कांग्रेसले नेपाल बदल्ने संकल्प गरेर आएको बताए।—न्युज एजेन्सी नेपाल





प्रतिक्रिया दिनुहोस्