काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्ष पार्टीले मधेसका मुद्दा बोक्ने बताएका छन् । शुक्रबार धनुषामा भएको कार्यकर्ता भेटघाटमा सभापति थापाले मधेसले सम्पूर्ण विश्वास दिए कांग्रेसको एकमना सरकार बन्ने र सम्पूर्ण मुद्दा पनि बोक्ने बताए ।
“मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ । त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ । चाहे त्यो संविधानसम्बन्धी विषय होस्, चाहे मधेसीमाथि हुने अन्यायपूर्ण विभेदसँग जोडिएको विषय हुन् सबै मुद्दा कांग्रेसले बोक्छ,” सभापति थापाले भने, “म निर्वाचन क्षेत्र नभएर यहाँ आएको होइन, मधेसलाई जोड्न आएको हुँ, नेपाली कांग्रेसको जननी हो ।”
उनले मधेसका मुद्दा सम्बोधन गर्न आफूले मात्र जितेर नपुग्ने बताए । पार्टीबाट भएका कतिपय त्रुटिले धेरैजना कांग्रेसबाट बाहिर बसिसकेको स्वीकार गर्दै अहिले फर्कने क्रम सुरु भएको बताए । “हिजो पार्टीबाट कतिपय कमीकमजोरी भएका छन् । जसका कारण धेरै साथीहरू पार्टीभन्दा बाहिर जानुभएको छ । हिजोदेखि हामीसँग जोडिनेक्रम सुरु भएको छ,” थापाले भने, “अब सबै साथीहरू एकजुट हुनुस् । एक भएर बाहिर गएकाहरूलाई घर फर्काउने पहल लिनुस् ।”
उनले निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद भइरहेको भन्दै पार्टीभित्र विभाजित मत अहिले बाँकी नरहेको बताए । धनुषा–१ का उमेदवारसँगै, क्षेत्र नम्बर–३ का उमेदवार पूर्वउपसभापति विमलेन्द्र निधि, क्षेत्र नम्बर–४ का उमेदवार महेन्द्र यादवलाई पनि जिताउन आग्रह गरे । “मलाई मायाँ गर्ने साथीहरूले धनुुषा–४ का उमेदवार महेन्द्र यादवलाई पनि माया गर्नुपर्छ, चुनाव जिताउनुपर्छ । अनि मात्र मलाई वास्तविक रूपमा माया गरेको ठहर्छ,” थापाले भने ।
उनले देशलाई सम्हाल्ने र अवस्था सुधार्ने दुईवटा काम एक साथ गर्ने बताए । कार्यक्रममा जसपाबाट चुनाव जितेका स्थानीय जनप्रतिनिधिसहित कांग्रेस प्रवेश गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्