रसुवामा त्रिपक्षी प्रतिस्पर्धा : नयाँ दलको प्रभाव कति ?

काठमाडौँ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला रसुवामा चुनावी माहोल तात्दो छ । रसुवाको कठ्याङ्ग्रिँदो मौसमलाई पनि चुनावी सरगर्मीले तताएको छ ।

नुवाकोटको सीमा क्षेत्र बेत्रावतीबाट लाङटाङ, टिमुरे, चीनको स्वशासित क्षेत्र रसुवागढीसम्म पैmलिएको रसुवामा यो पटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको न्यून प्रभाव रहेको यो जिल्लामा मुख्य नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

SHIKHAR COOL TECH

८० प्रतिशत तामाङ बाहुल्य क्षेत्र रहेको रसुवा जिल्लामा ५ वटा गाउँपालिका छन्, जसमा उत्तरगया, कालिका, गोसाइकुण्ड, नौकुण्ड र आमाछोदिङ गाउँपालिका पर्छन् ।

२०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा दुई पटक विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य यो पटक निर्वाचन जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । यो पटक उनको प्रमुख प्रतिस्पर्धीमा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर तामाङ र नेकपाका उम्मेदवार माधव लामिछाने छन् ।

२०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा)सँगको गठबन्धनसहितको मतबाट अत्याधिक बहुमत ल्याएर विजयी भएका कांग्रेसका उम्मेदवार आचार्य यो पटक गठबन्धनविना मैदानमा छन् । २०७९ को निर्वाचनमा आचार्यले गठबन्धनको तर्फबाट उम्मेदवार बन्दा १८ हजार २३५ मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका छोवाङ तेन्जीन तामाङले ८ हजार ६१४ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङ यो पटक चुनावी प्रतिस्पर्धामा छैनन् । यो पटक नेकपा एमालेले प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचन जितेका तामाङ २०७० को निर्वाचनमा एमालेका उम्मेदवार जनार्दन ढकालसँग पराजित भएका थिए ।

माओवादी पृष्ठभूमिका तामाङ २०७४ मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको तर्फबाट प्रदेश सभाका लागि निर्वाचन लडेका थिए । नेपाली कांग्रेससँग नयाँ शक्तिले गठबन्धन गर्दा रसुवा र गोरखा क्षेत्र नम्बर २ पाएको थियो । तर, अन्तिम समयमा रसुवाबाट उम्मेदवार बनाएका प्रेम तामाङले प्रदेश सभामा रुचि देखाएपछि कांग्रेसबाट मोहन आचार्यले टिकट पाएका थिए । २०७९ पछि नेकपा एमाले प्रवेश गरेसँगै उनी केन्द्रीय सदस्य बनेका थिए ।

तामाङले यो पटकको निर्वाचनमा कांग्रेसका उम्मेदवार मोहन आचार्यसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । आचार्यले रसुवामा बनाएको बलियो जनाधार तोड्न तामाङलाई ठुलो चुनौती छ । तामाङको उम्मेदवारीको विषयमा नेकपा एमालेभित्रै चर्को असन्तुष्टि छ । तामाङसँगको असन्तुष्टिका कारण नेकपा एमालेका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालले पार्टी नै परित्याग गरे ।

जिल्लामा राम्रो जनाधार बनाएका ढकालको असन्तुष्टिको मत यो पटक एमालेका उम्मेदवार तामाङले नपाउने निश्चित छ । असन्तुष्ट पक्षलाई उनले समेट्न सक्ने अवस्था नबनेमा विगतमा एमालेलाई मतदान गर्दै आइरहेका कम्तीमा पनि २ हजार मत अर्को पार्टीलाई जाने जोखिम छ । यो अवस्थामा २०७९ को निर्वाचनमा एमाले उम्मेदवार छोवाङ तेन्जीनले ल्याएको ८ हजार ६१४ मत ल्याउन पनि कठिन हुन सक्छ ।

नेकपाबाट उम्मेदवार बनेका माधवप्रसाद लामिछाने अहिले पटक पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । २०६४ को संविधान सभा निर्वाचनदेखि उम्मेदवारको आकाङ्क्षी लामिछानेले यो पटक उम्मेदवार हुने मौका पाएका छन् । यसअघिका रसुवा जिल्ला इन्चार्ज इन्द्र गोतामे जगतजंग प्रदेश सभा सदस्य भएसँगै यो पटक लामिछानेले उम्मेदवार हुने अवसर पाएका हुन् ।

पार्टीको काम बाहेक आफ्नै व्यवसायमा रमाइरहेका लामिछानेलाई यो पटक निर्वाचन जित्न त्यति सहज भने छैन । २०७९ को प्रतिनिधि सभा निर्वाचनको मत परिणाम हेर्दा तत्कालीन माओवादी केन्द्र रसुवामा तेस्रो नम्बरमा देखिन्छ । त्यतिबेला माओवादी केन्द्रले ३ हजार ६८६ मत प्राप्त गरेको थियो । यो पटक पार्टी एकताका कारण साविकको नेकपा एकीकृत समाजवादी पार्टीले पाएको मत पनि थपिदाँ लामिछानेलाई पहिलाको भन्दा केही राहत भने हुने देखिन्छ । उता नेकपा एमालेको असन्तुष्ट मतलाई आफ्नो पक्षमा तान्न सक्ने अवसर भने लामिछानेलाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवामा बसन्त भट्टलाई उम्मेदवार बनाएको छ । रास्वपाको उम्मेदवारले २०७९ को निर्वाचनमा १६५ मतमात्रै प्राप्त गरेका थिए । यो पटक थोरै मत बढाए पनि रसुवामा रास्वपाको प्रभाव अन्य जिल्लाको तुलनामा कम देखिन्छ । त्यसो त रास्वापाका रसुवा सभापति मानबहादुर तामाङ टिकट नपाएपछि अहिले कुलमान घिसिङको नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । माथिल्लो भेगमा आफ्नो प्रभाव जमाएका तामाङले रास्वपाका अधिकांश भोट काट्ने सम्भावना पनि छ । कुलमानको कर्मभूमि रसुवाको चिलिमे, गतलाङ, गोल्जुङ र स्याफ्रुमा यो पटक उज्यालो नेपाल पार्टीको प्रभाव पर्ने देखिन्छ । तामाङ बाहुल्य क्षेत्र हुनका साथै विगतमा कुलमानले चिलिमे जलविद्युत् आयोजनाका गरेको काम र प्रभावित स्थानीयलाई सेयर दिन भूमिका खेलेको आधारमा उज्यालो पार्टीका उम्मेदवारले पूरानो दलको मत भने काट्ने देखिन्छ ।

  • कति छन् रसुवामा मतदाता ?

रसुवामा यो पटक ४१ हजार ४७१ जना कुल मतदाता छन् । भूगोलको हिसाबमा सबैभन्दा धेरै नौकुण्ड गाउँपालिकामा ११ हजार ४ सय ६ मतदाता छन् । त्यस्तै दोस्रोमा कालिका गाउँपालिकामा ९ हजार ३१६ मतदाता छन् । उत्तरगयामा ८ हजार ७९३, गोसाइकुण्ड गाउँपालिकामा ६ हजार ४०९ र आमाछोदिङमो गाउँपालिकामा ५ हजार ५४७ मतादाता छन् ।

  • को–को छन् रसुवामा उम्मेदवार ?

नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा एमालेबाट प्रेमबहादुर तामाङ, नेकपाबाट माधवप्रसाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट बसन्त भट्ट, राप्रपाबाट हरिप्रसाद लामिछाने, उज्यालो पार्टीबाट मानबहादुर तामाङ उम्मेदवार छन् ।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दावा साङबो तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट बिनोद थिङ, नेकपा माओवादीबाट होमप्रसाद आचार्य र स्वतन्त्रबाट चित्रकुमारी देवकोटा, दावा मिङमा तामाङ, सागर लामा उम्मेदवार छन् ।

रसुवामा २०७९ सालमा प्रतिनिधि सभाका उम्मेदवारले पाएको मत कति ?

एकमात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका थिए । आचार्य १८ हजार २३५ मत ल्याएर विजयी हुँदा उनका निकटमत प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङले ८ हजार ६१४ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा १६५ मत प्राप्त गरेको थियो ।

  • समानुपातिक मत परिणाम

समानुपातिक मततर्फ रसुवाबाट नेपाली नेपाली कांग्रेसले १२ हजार ५८६ मत प्राप्त गरेको थियो । एमालेले ७ हजार ७०८ मत प्राप्त गर्दा माओवादी केन्द्रले ३ हजार ६८६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ हजार ७३१ र एकीकृत समाजवादीले ३३६ मत प्राप्त गरेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार