दमक– नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार च्यासलमा दाबी गरे,‘झापा–५ मा एमालेको अवस्था मजबुद छ, आत्तिनुपर्ने छैन।’
अध्यक्ष केपी शर्मा ओलीको चुनावी गढको सवाल मात्र होइन, ०४८ सालदेखिको निर्विकल्प क्षेत्रमा पराजित हुने सन्त्रास पनि छ।
फेरि, यस पटकको निर्वाचनको पराजय केबल चुनावी मात्र नभएर दुई पुस्ता, आग्रह र अहंकारबीचको प्रतिस्पर्धा पनि हुनेछ।
खासगरी जेनजी विद्रोह दबाउने कोशिश गर्दा नसकेर अपदस्त भएका ओली र जेनजी विद्रोहको जगका नायक मानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धा भएका कारण दुनियाँले महत्वका साथ हेरेको छ।
तर एमालेको संगठनको किल्ला नै हल्लिएको छ। यसबाहेक यहाँको मतको हिसाब किताबलाई पनि विश्लेषण गरिएको छ।
यस क्षेत्रको चुनावमा मात्र सीमित राखेको छैन, यसले देशको भावी नेतृत्वको दिशा तय गर्ने संकेत गरेको छ।
यसै सन्दर्भमा, विगतका निर्वाचनका तथ्याङ्क र वर्तमान बदलिँदो परिस्थितिको अंकगणितले बालेनको विजय आधारलाई पुष्टि गर्ने प्रयास गरेको छ।
२०७४ मा वाम गठबन्धनको बलमा २८,८४२ र २०७९ मा एकल शक्ति जस्तै गरी २८,५७६ को फराकिलो मतान्तरले जितेका ओलीका लागि यसपटकको समीकरण निकै चुनौतीपूर्ण छ।
अघिल्ला चुनावहरूमा कांग्रेस र अन्य दलका उम्मेदवारहरू केवल ‘प्रतियोगी’ मात्र थिए, तर बालेन यसपटक ‘विकल्प’ का रूपमा उभिएका छन्।
२०७९ को समानुपातिक मतलाई आधार मान्दा एमालेको पकड बलियो देखिए पनि रास्वपाको उदयले त्यसलाई खुम्च्याउँदै लगेको छ।
२०७९ मा रास्वपाले यस क्षेत्रमा समानुपातिकतर्फ १८,२०५ मत प्राप्त गर्दै दोस्रो शक्ति बन्नु नै बालेनका लागि बलियो जग हो।
यस निर्वाचनमा झापा–५ मा थपिएका ९,०९० नयाँ मतदाता बालेनका लागि ‘गेम चेन्जर’ बन्न सक्छन्। १८ देखि २५ वर्ष उमेर समूहका यी मतदाताहरू दलीय घेराभन्दा बाहिर र नयाँ नेतृत्वको प्रभावमा छन्।
नयाँ मतदाता ९,०९० जसको ९०% मत बालेनको पक्षमा जान सक्ने अनुमान छ।
दमक र गौरादहका शैक्षिक संस्थाहरूमा बालेनको पक्षमा देखिएको उत्साहले ओलीको पुरानो संगठनलाई दबाबमा पारेको छ।
यसपटक कुनै पनि दलले औपचारिक गठबन्धन नगरेका कारण मतहरू छरिएका छन्। कांग्रेसले मन्दरा चिमरियालाई उठाएको छ भने नेकपाले रञ्जित तामाङलाई। यसले गर्दा ओलीको विरुद्धमा जाने ‘एन्टी–ओली’ मत अब कांग्रेसमा मात्र सीमित नभई सिधै बालेनतर्फ मोडिने देखिन्छ।
२०७९ मा ओलीले पाएको ५२,३१९ मतमध्ये एमालेको ‘कोर’ समानुपातिक मत ४१,६१९ थियो। बाँकी मत अन्य दलका असन्तुष्ट र राप्रपाको समर्थनबाट आएको थियो।
रास्वपाको आधारभूत १८,२०५ मत, कांग्रेस र माओवादीका असन्तुष्ट युवाहरूको करिब १०–१५ हजार मत, नयाँ थपिएका ९ हजार मतसहित तटस्थ मतदाताको आकर्षण बलियो छ। खासगरी यस्ता मतदातामा युवा र महिलाको संख्या ज्यादा रहेको आँकलन गरिएको छ।
यो अंकगणितले बालेनलाई ४० देखि ४५ हजारको आसपासमा मत पाउन सक्ने देखिन्छ, जुन ओलीको ‘कोर’ भोटसँग सिधा टक्कर हुने अवस्था हो। तर यसमा अझ बढ्न सक्ने पनि देखिन्छ। किनभने बालेन आफैं झापामा लामो समयसम्म राजनीतिक भेट र मत माग्ने काममा सहभागी भैसकेका छैनन्।
बालेन केवल झापाका उम्मेदवार मात्र होइनन्, उनी रास्वपाका तर्फबाट प्रस्तावित प्रधानमन्त्री समेत हुन्।
‘आफ्नो क्षेत्रको मान्छे प्रधानमन्त्री बन्ने’ ओलीको पुरानो अस्त्रलाई बालेनले यसपटक उल्टाइदिएका छन्। मतदाताहरूमा ‘पुरानो प्रधानमन्त्री कि नयाँ प्रधानमन्त्री?’ भन्ने बहस सुरु भएको छ।
‘ओलीजीले सपना देखाउनुभयो, बालेनले काम गरेर देखाए। हामीलाई उखान होइन, डेलिभरी चाहिएको छ’, दमक–१० का एक युवा मतदाताले भने,‘अब एजेन्डा सुनियो भने बारम्बार देखेको अनुहारलाई हामी मत दिने पक्षमा छैनौं।’
झापा–५ मा बालेन शाह विजयी बन्ने तीन मुख्य आधारहरूमा परिवर्तनको चाहना, बलियो बनिसकेको आत्मविश्वासी सबल संगठन र प्रविधि अनि रास्वपाको डिजिटल क्याम्पेनिङ र बालेनको व्यक्तिगत क्रेज पनि हो।
बालेनका लागि तेस्रो फाइदाचाहिँ कांग्रेस र एमालेका कार्यकर्ताहरूले आफ्नो दलको नेतृत्वप्रति देखाएको असन्तुष्टिले ‘क्रस भोटिङ’ हुने उच्च सम्भावना छ।
यदि बालेनले नयाँ थपिएका र तटस्थ मतदातालाई मात्र होइन, कांग्रेस र एमालेका ‘कन्जरभेटिभ’ बाहेकका मतहरू तान्न सकेमा झापा–५ मा ऐतिहासिक राजनीतिक भूकम्प आउने निश्चित छ। र लहरले पनि त्यसै भनिरहेको छ।





प्रतिक्रिया दिनुहोस्