रास्वपाका लागि २ कारणले महत्त्वपूर्ण छ काठमाडौं-७

काठमाडौं निर्वाचन क्षेत्र शृंखला

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि दुई कारणले महत्त्वपूर्ण छ।

SHIKHAR COOL TECH

पहिलो, २०७४ सालको निर्वाचनमा वामपन्थी गढबाट रास्वपाले यहाँ जित निकालेको थियो।

दोस्रो, देशभरका ६७४३ वटा वडामध्ये यही क्षेत्रभित्र पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मात्र रास्वपाको जनप्रतिनिधि छ। २०७९ असारमा गठित रास्वपाकी रेजिना श्रेष्ठ २०८१ मंसिर १७ गते भएको उपनिर्वाचनमा यहाँ वडाध्यक्ष निर्वाचित भएकी थिइन्।

कुल ६७ हजार ४११ मतदाता रहेको काठमाडौं–४ क्षेत्र विभाजन हुँदा कहिले ४, कहिले ५ र कहिले ७ मा बाँडिदै आएको छ। तथापि काठमाडौंको उत्तरपश्चिम भेगमा पर्ने यो निर्वाचन क्षेत्र वामपन्थीहरूकै प्रभाव इलाका रहँदै आएको छ।

२०१५ सालको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका तत्कालीन प्रभावशाली नेता गणेशमान सिंह विजयी भएका थिए। त्यसयता यहाँ कांग्रेसले संसदीय निर्वाचन जित्न सकेको छैन।

२०४८ को निर्वाचनमा यो क्षेत्र काठमाडौं–४ को हिस्सा थियो। तत्कालीन एमाले नेता तथा आन्दोलनताक संयुक्त वाममोर्चाकी प्रमुख रहेकी साहना प्रधान निर्वाचित भएकी थिइन्।

२०५१ को मध्यावधि निर्वाचनमा यस क्षेत्रका केही भाग काठमाडौं–५ मा पर्‍यो। त्यति बेला काठमाडौंका निर्वाचन क्षेत्र बढाएर सात पुर्‍याइएको थियो।

काठमाडौं–५ मा पर्ने यस क्षेत्रबाट नेकपा एमालेका राजेन्द्र श्रेष्ठ निर्वाचित भए। त्यसपछि २०५६ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन एमालेका मंगलसिद्धि मानन्धर विजयी भए।

२०७० को निर्वाचनपछि श्रेष्ठ र मानन्धरले एमाले छाडेका थिए। मानन्धरको मृत्यु भइसकेको छ भने श्रेष्ठ अहिले नेपाली कम्युनिस्ट पार्टीमा छन् र काठमाडौं–७ कै उम्मेदवार छन्।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले यहाँ जित दर्ता गरेको थियो। तत्कालीन माओवादी नेता हिसिला यमिले यस क्षेत्रबाट सभासद जितेकी थिइन्।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि यमि उम्मेदवार थिइन्। तर उनले जित्न सकिनन्। जनमत एमालेतिरै फर्कियो। २०४८ र २०५४ सालमा काठमाडौं–१६ बाट वडाध्यक्ष जितेका रामवीर मानन्धर सभासद निर्वाचित भए।

२०७४ को निर्वाचनमा पनि उनै रामवीर संघीय सांसद निर्वाचित भए।

यसरी २०७४ सालसम्म काठमाडौं–७ वामपन्थीहरूको अभेद्य गढकै रूपमा थियो। २०७९ को निर्वाचनबाट भने यहाँको जनमत बदलियो। पहिलो पटक दलका रूपमा राष्ट्रिय चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ जित दर्ता गर्‍यो।

रास्वपाका गणेश पराजुली सांसद निर्वाचित भए।

पराजुली ८ हजार ७४३ मतसहित सांसद निर्वाचित हुँदा दोस्रो एमाले नै भएको थियो। एमाले उम्मेदवार श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका थिए। तेस्रो भएकी मानुषी यमि भट्टराईले ६ हजार ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्लले २ हजार ८६३, स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले २ हजार ७८२ मत ल्याएका थिए।

जसपा नेपालबाट उठेका राजेन्द्र श्रेष्ठले २ हजार ४६१ मत ल्याएका थिए। स्वतन्त्र नै उठेका रामवीर मानन्धरले १ हजार २१५ मत ल्याएका थिए।

काठमाडौं–७ मा १० वटा वडा समेटिएका छन्। यसमा काठमाडौं महानगरपालिकाको ठूलो मताधार भएको वडा नम्बर १६ का साथै १७, १८ र २५ नम्बर वडा समेटिएका छन्। साबिक इचंगुनारायण गाविस रहेको नागार्जुन नगरपालिकाका वडा नम्बर १, २ र ३, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा पनि यस क्षेत्रमा पर्छन्।

यी १० वटा वडामध्ये काठमाडौं महानगरपालिकाको १८ नम्बर वडा एमालेले जितेको छ। १७ र २५ नम्बर वडा कांग्रेसले जितेको छ भने १६ नम्बर वडा रास्वपाले जितेको छ।

नागार्जुन नगरपालिकातर्फ वडा नम्बर १ कांग्रेसले जितेको छ भने वडा नम्बर २ र ३ एमालेले जितेको छ।

त्यस्तै, तारकेश्वर नगरपालिकाको जितपुरफेदी (वडा नम्बर १) कांग्रेसले जितेको छ। गोलढुंगातर्फका दुई वडामध्ये वडा नम्बर ४ एमालेले र वडा नम्बर ५ कांग्रेसले जितेको छ।

वडागत रूपमा विश्लेषण गर्दा गत स्थानीय तह निर्वाचनमा कांग्रेसले ६ वटा र एमालेले ४ वटा जितेको थियो। उपनिर्वाचनमा काठमाडौं–१६ गुमाएको थियो।

तथापि एमालेले यहाँ आफ्नो मताधार बलियो रहेको दाबी गर्दै आएको छ। तारकेश्वर नगरपालिकाका वडा नम्बर ३, ४ र ५, नागार्जुन नगरपालिकाका २ र ३ नम्बर वडा र काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ र १८ मा एमालेको मताधार तुलनात्मक रूपमा बलियो रहेको एमालेको विश्लेषण छ।

यही क्षेत्रबाट दुई पटक सांसद जितेका मानन्धर अघिल्लो पटक स्वतन्त्र उठ्दा एमालेलाई घाटा भएको उनीहरूको बुझाइ छ।

मानन्धर लगायत फ्याक्टरकै कारण एमालेले २०७९ को निर्वाचनमा १६ नम्बर वडा गुमाएको एमाले नेताहरू बताउँछन्। उपनिर्वाचन बेला पनि आन्तरिक विवादका कारण एमाले एकढिक्का थिएन। त्यसको लाभ रास्वपालाई परेको उनीहरूको दाबी छ।

गत निर्वाचनमा एमालेले काठमाडौं–६ को (२) प्रदेशसभा सदस्य जितेको थियो। प्रकाश श्रेष्ठ सांसद निर्वाचित भएका थिए। श्रेष्ठ २०७४ सालमा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। र, उनी बागमती प्रदेशमा दुई पटक मन्त्रीसमेत बनेका थिए।

इचंगुनारायणका रैथाने श्रेष्ठलाई जनाधार बलियो भएको ठानेरै एमालेले प्रदेशसभा सदस्यबाट राजीनामा दिन लगाएर यसपालि प्रतिनिधिसभामा उम्मेदवार बनाएको छ। विगतका निर्वाचनमा पार्टी छाडेका मानन्धर अहिले एमाले नै फर्किएका छन्। गत स्थानीय तह उपनिर्वाचनताक उनी एमाले फर्किएका हुन्।

‘विगतको मत विश्लेषण र अहिलेको मताधार हेर्दा पनि एमाले हार्नुपर्ने कारण देखिँदैन। उम्मेदवार पनि स्थानीय स्तरमा भिजेकै नेता हुनुहुन्छ,’ एमाले जिल्ला कमिटी सदस्य सन्तोष अर्यालले भने।

यो निर्वाचनमा काठमाडौं–७ बाट २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये १७ जना दलका हुन् भने १० जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसले २०७४ सालपछि पहिलो पटक काठमाडौं–७ मा उम्मेदवार उठाएको हो। २०७४ सालमा कांग्रेसले त्यस क्षेत्रमा विक्रमबहादुर थापालाई समर्थन गरेको थियो। उनले १० हजार ७९ मत ल्याएका थिए। २०७९ को निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको गठबन्धनले तत्कालीन नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमि भट्टराईलाई समर्थन गरेको थियो।

नेपाली कांग्रेसले यसपालि प्रमोदहरि गुरागाईंलाई उम्मेदवार बनाएको छ। २०७८ अघिसम्म उनी पेसाले प्राध्यापक थिए। सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका गुरागाईं नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष पनि हुन्। नुवाकोट पुर्ख्यौली थातथलो भएका गुरागाईं अहिले पार्टी केन्द्रीय सदस्य छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वसन्त मानन्धरलाई उम्मेदवार बनाएको छ। काठमाडौं–७ (१) मा दुई पटक प्रदेशसभा सदस्य निर्वाचित मानन्धर पनि प्रदेशबाट राजीनामा दिएर संघीय संसदको उम्मेदवार बनेका हुन्। विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका मानन्धर स्थानीय स्तरमा भिजेका नेता हुन्।

रास्वपाबाट गणेश पराजुली नै उम्मेदवार बनेका छन्। अघिल्लो पटक फराकिलो मतान्तरले चुनाव जितेको र मध्यावधि समीक्षा मान्न सकिने वडा नम्बर १६ को उपचुनाव समेत जितेकाले रास्वपा जित निकाल्न सकिनेमा ढुक्क देखिन्छ।

‘१६ नम्बर वडामा हामीले जितेपछि त्यहाँबाट दिने सेवा चुस्त र व्यवस्थित बनाएका छौं। पूर्वाधार निर्माणमा हाम्रो सकारात्मक पहलकदमीप्रति जनता खुसी नै छन्,’ रास्वपा उम्मेदवार पराजुलीले भने, ‘देशव्यापी परिवर्तनको लहर, इतिहासमा नाम दर्ज गर्ने नागरिकको अभूतपूर्व चाहनाको प्रभाव यहाँ पनि पर्ने नै भयो। जनप्रतिनि भएर अढाइ वर्ष गरेको कामको मूल्यांकनका आधारमा पनि नागरिकले हामीलाई मत दिनुहुन्छ भन्ने विश्वास छ।’

काठमाडौं–७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले लालकुमार लामालाई उम्मेदवार बनाएको छ। जसपा नेपालले बाबुराम लामालाई उम्मेदवार बनाएको छ भने उज्यालो नेपालले विमला लामालाई उम्मेदवार बनाएको छ।

काठमाडौं–७ को समानुपातिक मत विश्लेषण गर्दा कांग्रेस, एमालेको मत धेरै नै रास्वपातिर ‘ट्रान्सफर’ भएको देखिन्छ।

गत निर्वाचनमा काठमाडौं–७ मा रास्वपाले १० हजार ५८८ मत ल्याएको थियो। एमालेले ६ हजार २९९ मत ल्याएको थियो। नेपाली कांग्रेसले ५ हजार ४०, राप्रपाले ४ हजार ६२९, एकीकृत समाजवादीले २ हजार २७८, हाम्रो नेपाली पार्टीले १ हजार ६७२, माओवादी केन्द्रले १ हजार ६६८ र जसपा नेपालले १ हजार ४०७ मत ल्याएको थियो।

प्रदेशसभा निर्वाचनतर्फ एमालेले पहिलो मत ल्याएको थियो।

प्रदेशसभामा एमालेले ७ हजार ६७६, राप्रपाले ७ हजार २१५, नेपाली कांग्रेसले ५ हजार ६२२, हाम्रो नेपाली पार्टीले ३ हजार ४७५ र एकीकृत समाजवादी ३ हजार १९२ मत ल्याएको थियो।

यी पनि पढ्नुहोस्:

कम्युनिस्ट गढमा रास्वपाको उदय, पाउला निरन्तरता?

हेभीवेट नेताहरू भिडिरहेको काठमाडौं–५

मदन भण्डारीको विरासत भत्काएको क्षेत्रमा कांग्रेसले गगनको प्रभाव बचाउला?

काठमाडौंको खानेपानी मुहानमा चुनावी परीक्षा दिइरहेका कुलमान घिसिङ

सितिमिति प्रतिनिधि दोहोर्‍याउँदैन, सधैं नयाँ अनुहार छान्न रूचाउँछ काठमाडौं–२

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार