काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।
मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाका अनुसार गिरफ्तार आरोपीहरूले उपत्यकाका विभिन्न क्षेत्रमा महिलाहरूको गहना चोरी र एकान्तमा बसेर लुटपाट गर्दै मोटरसाइकलमा भाग्ने गरेका थिए । प्रहरी अनुसन्धान अनुसार लुटेरा समूहले हालसम्म उपत्यकामा २७ वटा लुटपाटको घटना गरिसकेको पाइएको छ ।
‘जेनजी आन्दोलनपछि समूहहरू संगठित भएको देखिन्छ । दिनभरि प्रयोग गरिएका ट्याक्सी पनि नियन्त्रणमा लिएका छौँ । ट्याक्सी चालकहरू रातीको समयमा नौ बजेतिर जम्मा हुने, खानासँगै खाने र १२ बजेपछि बिहान ४ बजेसम्म लुटपाटमा संलग्न हुने गरेको पायौँ,’ प्रहरी प्रवक्ता थापाले भने ।
विनय तामाङ भदौ २४ मा जेनजी आन्दोलनको समयमा प्रहरीले हिरासतमा राख्दा भागेका थिए । प्रहरी प्रवक्ता थापाले बताए अनुसार, गएराति मोटरसाइकलबाट भाग्ने क्रममा उनीहरूलाई गोली प्रहार गरिएको हो । पक्राउ परेका अन्य नौ जनालाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
‘लुटेरा समूहका नेतृत्व गरेका तामाङ विगतमा पनि धेरै आपराधिक घटना घटाएको देखिन्छ । १० जनाको समूहलाई अह्राई खटाई गरिरहेको देखिन्छ । तामाङ गत भदौ २४ गते भन्दा अगाडि बुढानीलकण्ठमा चोरी डकैतीको अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रही महारागञ्ज वृत्तको हिरासतमा रहेको अवस्था थियो र भदौ २४ गतेको आन्दोलन पश्चात् फरार भएका थिए,’ उनले भने ।
पक्राउ परेका लुटेरा समूहले सोह्रखुट्टे, बौद्ध, महाराजगन्ज, गौशाला र भक्तपुरको ठिमी क्षेत्रमा विशेष गरी रातको समयमा लुटपाटको गतिविधि गर्दै आएको उनले बताए । प्रहरी कार्यालयमा आज मात्र २७ वटा जाहेरी आएको भन्दै प्रहरीले समुदायलाई सचेत रहन र अनावश्यक रूपमा एक्लै नहिँड्न सुझाएको छ ।





प्रतिक्रिया दिनुहोस्