काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए ।
उनले भने, ‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन । त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो ।’उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा पूर्णरूपमा पूरा हुन नसकेको बताए ।
‘लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र ति मार्फत सिर्जित बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन्,’ उनले भने ।उनले फागुन २१ गते हुन गइरहेको निर्वाचनको महत्वसमेत औँल्याउँदै भने, ‘यो निर्वाचन केवल जनप्रतिनिधि चुन्ने प्रक्रिया मात्र होइन, बरु मुलुकमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान बिन्दु हो। हामी आशावादी छौं कि रास्वपाको नेतृत्वमा मुलुकले राजनीतिक स्थायित्व, जनमुखी शासन र सामाजिक न्यायसहित समृद्धि प्राप्त गर्नेछ।’
डीपी अर्यालले सहिदको बलिदानको वास्तविक सम्मान राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधनमार्फतै हुन सक्ने उल्लेख गर्दै, विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकको संयोजनमा मात्रै सहिदका सपना पूरा गर्न सकिनेमा जोड दिएका छन्।





प्रतिक्रिया दिनुहोस्