काठमाडौं । बाराको परवानीपुरमा भएको सामूहिक हत्या घटना प्रहरीले सुल्झाएको छ । परवानीपुर गाउँपालिका–१ का ४६ वर्षीया सुमित्रा देवी र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मंगलबार राति हत्या भएको थियो ।
घरभित्रै सुतिरहेका सुमित्रा र रामेश्वरको घाँटीमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।
उनीहरुबाहेक रामेश्वरका बुबा ५० वर्षीय जगरुप मण्डल र बहिनी २० वर्षीया रिणा कुमारी मण्डल पनि घाइते भएका थिए । तर, प्रहरीले घटनाको २४ घण्टाभित्र हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।
बारा प्रहरीको अनुुसन्धानका क्रममा रामेश्वर र उनकी आमा सुमित्रा देवीको हत्यामा रामेश्वरकै श्रीमती र उनका प्रेमीको संलग्नता भएको खुलाएको हो । प्रहरीले बुधबार नै रामेश्वरकी श्रीमती मनिता देवी र उनका प्रेमी धर्मेन्द्र महतोलाई पक्राउ गरेको हो ।
मनिताकै योजनामा धर्मेन्द्र राति रामेश्वरको घरमा पुगेर उनको र आमा सुमित्राको हत्या गरेका हुन् । प्रहरी अनुसन्धानका क्रममा रामेश्वर उनकी बहिनीसमेत हत्या गर्ने योजना भए पनि उनका बुबा जगरुप र बहिनी रिणा कुमारी जोगिएका हुन् ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार घाइते दुवैजनाको अवस्था खतारामुक्त छ । उनीहरु दुवैजनाको स्थानीय एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । अनुुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘‘घटनामा रामेश्वरकै श्रीमती र उनका प्रेमी रहेको हाम्रो अनुसन्धानको निष्कर्ष छ । उनीहरु दुवै जनालाई पक्राउ गरेर अनुसन्धान गर्दैछौँ ।’’
प्रहरी अनुसन्धानका क्रममा रामेश्वरकी श्रीमती मनिता देवीले चार जनाको परिवारकै सखाप पार्ने गरी प्रेमी धर्मेन्द्र महतोको सहारा लिएकी थिइन् । प्रहरीका अनुसार रातिको खाना खाएपछि सबै सुुतेको अवस्थामा मनिताले धर्मेन्द्रलाई घरभित्र बोलाएर हत्या गराएको पाइएको छ ।
हत्यामा दुवै जना सक्रिय रहेको प्रहरीले जानकारी दियो । प्रहरीका अनुसार धर्मेन्द्र र मनिताले सुरुमा रामेश्वरको घाँटीमा चक्कु प्रहार गरेका हुन् । उनको हत्यापछि रामेश्वरकी आमाको हत्या भएको प्रहरीले जनाएको छ ।
रामेश्वर र उनकी आमाको हत्यापछि भने बुबा जगरुप र बहिनी रिणा कुमारी भागेपछि जोगिन सफल भएका हुन् ।
भाग्दा भाग्दै उनीहरु दुवैमाथि समेत चक्कु प्रहार भएको थियो । तर, पछि स्थानीयले समेत चाल पाएका थिए । हत्या लगत्तै मनिताका प्रेमी धर्मेन्द्र भने फरार भएका थिए । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी राति साढे २ बजे नै घटनास्थल पुगेका थिए ।
मनिता भने आफूलाई समेत अज्ञात रुपमा आएको व्यक्तिले हत्या गर्न खोजेको भन्दै घाइते भएको बयान प्रहरीलाई दिएकी थिइन् । तर, उनी सामान्य अवस्थामा भेटिएकी थिइन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्,‘‘ रामेश्वरको श्रीमतीको भूमिका नै हामी पुग्दोदेखि नै शंकास्पद थियो । आफूसँगै सुतेको श्रीमानको हत्या हुँदा पनि उनीभने सामान्य घाइते भएको नाटक गर्दै थिइन् । तर, परिवार नै शोकमा परेका बेला हामीले उनीमाथि सामान्य घटनाबारे जानकारी दिने रुपमा अनुसन्धान गर्‍यौँ । तर, घटनासित उनी जोडिँदै गएपछि उनको भूमिका खुलेको हो ।’’
अहिले भने घटनामा आफ्नो संलग्नता उनले स्वीकार गरिसकेको प्रहरीले जानकारी दियो ।
हत्यामा आफू र प्रेमीमात्रै रहेको बयान उनले प्रहरीलाई दिएकी छन् । अनुसन्धानमा संलग्न ती अधिकारीले भने,‘‘ रामेश्वर र उनकी आमाको हत्यामा दुवै जनामात्रै संलग्न भएको देखिएको छ । उनीहरुले तेस्रो व्यक्तिको प्रयोग गरेको अहिलेसम्मको अनुसन्धानले खुलेको छैन ।’’
६ वर्ष अघि नै रामेश्वरसित विवाह गरेकी मनिता देवीको सम्बन्ध धर्मेन्द्रसित रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
अविवाहित धर्मेन्द्र वैदेशिक रोजगारीका लागि ८ महिना अघिमात्रै दुबई पुगेका थिए । तर, मनिता र धमेन्द्रबीच सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् भने नियमित सम्पर्क हुने गरेको खुलेको छ । पछिल्लो समय मनिता र धर्मेन्द्रबीचको समन्ध परिवारले थाहा पाएर विवाद हुन थालेको थियो ।
सोही विवादबारे मनिताले धमेन्द्रलाई जानकारी गराएपछि उनी दुबईबाट नेपाल फर्किएका हुन् । प्रहरीका अनुसार आइतबार (माघ ११) गते मात्रै नेपाल आएको खुलेको छ । उनी नेपाल आएकोबारे उनका परिवारका कुनै पनि सदस्यलाई भने थाहा नदिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको छ । अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीले विवाहेत्तर सम्बन्धका कारण यस्तो अवस्था भएको बताउँछन् । उनका अनुसार विवाहेत्तर सम्बन्धले घटेको यो पहिलो घटना होइन । यसरी नै गत भदौमा मात्रै रौतहटमासमेत विवाहेत्तर सम्बन्धकै कारण एक महिलाको दर्दनाक हत्या भएको थियो ।
रौतहट गौर नगरपालिका–२ मा बस्दै आएकी २६ वर्षीया रुबी कुमारी साहको हत्यापछि शव सुटकेशभित्र प्याक गरेर फालिएको अवस्थामा फेला परेको थियो । विवाहित रुबीलाई उनकै प्रेमी लक्ष्मण पासवानले हत्या गरेर शव सुटकेशमा फालेका थिए ।
लक्ष्मणसित लामो प्रेम सम्बन्धमा रहेकी रुवीको विवाह भारतमा भएको थियो । लक्ष्मण भने वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए । तर, रुबीसितको प्रेम सम्बन्ध विवाहमा परिणत हुन नसकेको झोँकमा दुबईबाट नेपाल आएर रुबीको हत्या गरेका थिए ।
रुबीको हत्या पछि लक्ष्मणले आफैँले समेत आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगो लागेको र गम्भीर अवस्थामा पुगेका लक्ष्मणलाई प्रहरीले रौतहटबाट उपचारका लागि काठमाडौं बर्न अस्पताल कीर्तिपुर पठाएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भयो ।





प्रतिक्रिया दिनुहोस्