निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को उल्लङ्घनका घटनामा सक्रिय रूपमा निगरानी र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । 

आयोगका प्रवक्ता नारायण भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार २०८२ साल फागुन २१ गते हुने निर्वाचनका लागि आचारसंहिता २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू भएको छ । आचारसंहिता लागू भएदेखि १४ माघसम्म राजनीतिक दल, उम्मेदवार तथा संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटाको जवाफ प्राप्त भइसकेको छ भने बाँकीका लागि ताकेता भइरहेको छ ।

निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकिएको आयोगले जनाएको छ । जिल्लास्तरमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषय र प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई आर्थिक विषयको जिम्मेवारी दिइएको छ ।

यसैगरी निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी फैलाइने मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्तिको निगरानी गर्न आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको छ । सो इकाईले पत्ता लगाएका ३०२ वटा हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, विद्युतीय कारोबार ऐन २०६३ र प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।

निर्वाचनको मर्यादा र स्वच्छतामाथि प्रश्न उठ्ने कुनै गतिविधि देखिएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन आयोगले अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार