काठमाडौं । राष्ट्रिय सूचना आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ ।
आयोगले बिहीबार (माघ १५) काठमाडौंमा पत्रकार सम्मेलनमार्फत निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्य, तथ्य र यथार्थमा आधारित बनाउन सरोकारवाला सबै पक्षलाई दिर्नेशन दिएको हो ।
आयोगका प्रवक्ता एवं सूचना आयुक्त गगन विष्टले सरोकारवालाले सार्वजनिक गर्ने निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिए । उनले गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्नसमेत सरकारलाई सचेत गराए ।
उनले निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानून, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिए । उनले राजनीतिक दल र उमेदवारलाई आफ्नो उमेदवारबारे तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न आग्रह गरे ।
सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न निर्देशन दिए । कुनै दल वा उमेदवारको प्रचार सामग्रीलाई समाचारका रुपमा प्रकाशन तथा प्रसारण नगर्नसमेत सचेत गराए । –न्युज एजेन्सी नेपाल





प्रतिक्रिया दिनुहोस्