कञ्चनपुरः आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ।
राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पनि पर्छ कञ्चनपुर। यहाँको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। राष्ट्रिय राजनीतिमा पारिवारिक कारणले पनि परिचित बीना निर्वाचन क्षेत्र नं १. मा २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार तारा लामा तामाङसित पराजित भएका थिए। नेकपा एमालेले यस क्षेत्रबाट पुनः तामाङलाई उम्मेदवार बनाएको छ। २०७९ सालको निर्वाचनमा सुदूरपश्चिमबाट बैतडी र कञ्चनपुर–१ मा मात्रै एमालेले चुनाव जितेको थियो।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना भने २०७४ सालको जित फर्काउने रणनीतिअनुसार चुनावी मैदानमा छन्।
क्षेत्र नं १. मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीसितको मुख्य प्रतिस्पर्धामा नेपाली काँग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्याय पहिलोपटक चुनावी मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि पहिलोपटक जनकसिंह धामी मैदानमा छन्। स्वतन्त्रसहित १९ जना उम्मेदवार रहेको क्षेत्र नं. १ मा प्रमुख तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा पनि चुनावी भिडन्त रोचक हुँदै छ। नेपाली काँग्रेसबाट पूर्वमन्त्री नारायणप्रकाश साउँद चुनावी मैदानमा छन्। लगातार यहाँबाट चुनाव लड्दै आएका साउँद २०७९ सालको निर्वाचनमा यहाँबाट विजयी भएका थिए। उनले नेकपा (एमाले) का उम्मेदवार नरबहादुर धामीलाई पराजित गरेका थिए। २०७४ सालको निर्वाचनमा एमालेका धामीले साउँदलाई पराजित गर्दै यहाँबाट निर्वाचित भएका थिए। यो पटक एमालेबाट यहाँ युवानेता बचनबहादुर सिंह चुनावी मैदानमा छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पनि यही क्षेत्रलाई रोजेर पहिलोपटक चुनावी मैदानमा सक्रियता बढाएका छन्। नेपाली कम्युनिष्ट पार्टीले युवा नेता माधव पन्तलाई उम्मेदवार बनाएको छ। माधवको पनि प्रतिनिधिसभाको पहिलो चुनावी भिडन्त हो।
त्यसैगरी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पर्ने निर्वाचन क्षेत्र नं. ३ आसन्न निर्वाचन चर्चाको केन्द्रमा छ। नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पार्टीले उम्मेदवार हुनबाट वञ्चित गरेपछि यहाँको चुनावी माहोल अझ रोचक देखिन्छ। पार्टी सङ्गठनका हिसाबले कञ्चनपुर क्षेत्र नं. ३ नेपाली कांग्रेसका मजबुद क्षेत्र मानिन्छ। यही क्षेत्रबाट पटक–पटक नेता लेखक विजयी भए। तर हाल काँग्रेसभित्रको आन्तरिक कलह र विवाद भइरहँदा यहाँबाट काँग्रेसका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहराले टिकट ल्याएका छन्। तर निर्वाचनमा बाजी मार्न भने निकै मेहनत गर्नुपर्ने स्थानीयको भनाइ छ।
पहिलोपटक प्रतिनिधीसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका बोहरालाई काँग्रेसको विरासत निर्वाचन जितेर जोगाउनुपर्ने चुनौती छ। उता नेकपा (एमाले) ले यहाँबाट पूर्वसांसद डा. दीपकप्रकाश भट्टलाई चुनावी मैदानमा उतारेको छ। भट्टले २०७४ सालको निर्वाचनमा काँग्रेस नेता रमेश लेखकलाई पराजित गरेका थिए। २०७९ सालमा भने काँग्रेस नेता लेखकले यहाँ एमाले नेत्री नीरुदेवी पाललाई भारी मतान्तरले पारजित गर्दै विजयी भएका थिए।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका नेता मानबहादुर सुनार पनि यहाँ बलियो पकड भएका नेताका रुपमा चिनिन्छन्। प्रदेशसभा सदस्य भइसकेका सुनारको आधार क्षेत्र महाकाली नदी पारिको दोधारा चाँदनी मानिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई चुनावी मैदानमा उतारेको छ। यो क्षेत्रमा यो पटक नेपाली काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सचिव भीमराज भट्टले तीन वटै निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समिति गठन गरेर चुनावी मैदानमा होमिएको जानकारी दिए। ‘९२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने तयारी पनि छ,’ सचिव भट्टले भने, ‘विभिन्न तहमा बैठक बसेर पार्टीलाई सक्रिय गराउने काम भइरहेको छ।’
त्यसैगरी नेकपा (एमाले) का सचिव पल्लभराज भट्टले विभिन्न तहमा पार्टीको चुनाव केन्द्रित बैठकहरु सञ्चालन भइरहेको बताए। ‘पार्टीको केन्द्रको घोषणा पत्र आएपछि स्थानीय एजेन्डा थपेर जिल्लामा पनि घोषणा पत्र बनाउने छौँ,’ उनले भने, ‘हामी आसन्न निर्वाचनको व्यापक आन्तरिक तयारीमा जुटेका छौँ।’





प्रतिक्रिया दिनुहोस्