सहरका सडक, सडककिनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र घरका ढोकामा कतै पनि फोहोरका पोका थुप्रिएको अवस्था हुन भएन : कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ — काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छिन् । सहरका सडक, सडककिनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र घरका ढोकामा कतै पनि फोहोरका पोका थुप्रिएको अवस्था हुन नहुने डंगोलले जनाएकी हुन्।
काठमाडौं महानगरपालिका भित्रको फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग सहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा छलफल गर्दै उनी भन्छिन्, ‘तोकिएको समय र विधिबाट फोहोर संकलन हुनुपर्छ। सडक बढार्नुपर्छ। सहरी सरसफाइमा फोहोर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ।’
उनले अगाडि थपिन्, ‘सबैले आफ्ना–आफ्ना जिम्मेवारीलाई इमान्दार भएर पूरा गर्नुपर्छ। आफू जिम्मेवार नबन्ने, अरूलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ।’
समस्या आएपछि कारण खोज्दै हतार–हतार छलफलमा जुट्ने परम्परा अन्त्य गर्नुपर्ने डंगोल बताउँछिन्। ‘सम्भावित समस्याको समाधानका लागि पहिले नै काम गरौँ,’ उनी भन्छिन्, ‘नागरिकसँग जोडिएका विषय हाम्रा प्राथमिकतामा छन्। सहरी सरसफाइ पहिलो प्राथमिकतामा छ। यसको प्रभावकारिताका लागि हामी सदैव खुला छौँ। सहभागिता र उत्तरदायित्वबाट यसलाई दिगो बनाउनुपर्छ।’
उक्त छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले फोहर संकलन कार्य र ट्राफिक व्यवस्थापनलगायत नागरिक तथा सरोकारवाला निकायबाट आएका गुनासा तथा सुझावलाई तत्काल सम्बोधन गर्दै जानुपर्ने बताएका थिए।
सोही क्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ध्रुवप्रसाद आचार्य र मीत्र घिमिरेले महानगरपालिका नेतृत्वप्रति आशावादी रहेको बताउँदै महानगरपालिकाका निर्देशनहरूको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका थिए।
सहरी सरसफाइका विषयमा उठ्ने प्रश्नहरूमा निजी क्षेत्रको दायित्वसम्बन्धी सवाल उठ्दा उक्त क्षेत्रका कर्मचारीहरू भन्छन्, ‘हामी बिहान ५ बजे सडकमा निस्कन्छौँ। सार्वजनिक सडक बढार्दै काम थाल्छौँ। यससँगै संकलन प्रारम्भ हुन्छ। फोहर संकलन गर्ने समय धेरैलाई थाहा छ। थाहा भए पनि अटेरी गर्ने बानी हुन्छ।’ उनीहरू थप्छन्, ‘बाहिरबाट आउने कतिपय व्यक्तिहरू भने नजानेर पनि फोहोर बोकेर बाहिर आउनुहुन्छ। यदि घरधनी जिम्मेवार हुने हो भने यी सबै समस्याको समाधान हुन्छ।’
छलफलमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने, संकलन गर्ने समय र विधि निश्चित गर्ने, फोहर संकलन गर्न जानुअघि पूर्वसूचना दिने जस्ता विधि अभ्यास गर्ने, फोहर संकलन गर्ने सवारीसाधनमा क्षमताभन्दा बढी फोहर नराख्ने, सवारीसाधनमा बसेर वर्गीकरण नगर्ने, संकलित फोहर छोपेर मात्र ढुवानी गर्ने, यसरी ढुवानी गर्ने सवारीसाधनबाट लिचेट नचुहिने सुनिश्चित गर्ने जस्ता विषयमा कुराकानी भएको थियो। उक्त छलफलमा वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईसहित अधिकारीहरू सहभागी भएका थिए।
काठमाडौं महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न ७ क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको जनाएको छ। महानगरका अनुसार रिड्युस, रियुज, रिपेयर र रिसाइकलजस्ता फोहरको दिगो व्यवस्थापन विधिलाई प्रवर्धन गर्न उक्त प्रक्रिया अपनाइएको हो।





प्रतिक्रिया दिनुहोस्