कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका–६ ऐठपुरका ४३ वर्षीय थानेश्वर लेखक स्वतन्त्र उम्मेदवार बनेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र–३ बाट ‘डस्टबिन’ चुनाव चिन्हसहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।
लेखकले अन्य उम्मेदवारभन्दा फरक शैली अपनाउँदै चुनावी प्रचार गरिरहेका छन्। उनले प्रयोग गर्ने स्कुटरको पछाडि ‘डस्टबिन’ राखेर र अगाडि नेपालको झण्डा बोकेर प्रचारप्रसारमा व्यस्त देखिन्छन
सामान्य परिवारका लेखकले देशमा बढ्दो बेतिथि र भ्रष्टाचारविरुद्ध आवाज उठाउन पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएको बताए। देशको भ्रष्टाचार र बेतिथिलाई ‘डस्टबिन’मा फ्याँक्ने सन्देश दिनका लागि ‘डस्टबिन’ चुनाव चिन्ह रोजेको उनले भने।
नेपाल पर्यटन बोर्ड गड्डाचौकी शाखामा १६ वर्ष सहायक प्रमुखका रूपमा काम गरेका लेखकले राजनीतिक पदप्रति खासै रुचि नरहेको उल्लेख गरे। छ वर्षअघि पर्यटन बोर्डबाट हटाइएपछि विदेश जाने योजना बनाएको तर कोरोना महामारीका कारण सम्भव नभएपछि स्वदेशमै जीविकोपार्जन गर्दै आएको उनले बताए।
समाज सेवाको उद्देश्यका साथ लेखक यसअघि २०८१ मङ्सिरमा भीमदत्त नगरपालिका–६ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा पनि उम्मेदवार बनेका थिए। १२ जनाबीच भएको प्रतिस्पर्धामा उनले पाँचौँ स्थान हासिल गरेका थिए।
“२–३ दिनको छोटो प्रचारप्रसारमै जनताले मलाई १२ उम्मेदवारमध्ये पाँचौँ स्थान दिलाए,” उनले भने, “त्यही स्नेह र सहयोगले समाज सेवा हुँदै राष्ट्रको हितमा काम गर्ने उद्देश्यसहित यो निर्वाचनमा सहभागी भएको हुँ।”
क्षेत्र–३ का स्थानीयको साथ, सुझाव र सहयोगका आधारमा समग्र विकासको लक्ष्यसहित स्वतन्त्र उम्मेदवारी दिएको लेखकले बताए। सरकारी कार्यालयबाट वितरण हुने अनुदानमा व्यापक भ्रष्टाचार हुने, सीमित पुँजीपति वर्गले मात्र फाइदा लिने र गरिब जनतालाई रोजगारीका अवसर नदिइने अवस्थाविरुद्ध लड्न निर्वाचनमा होमिएको उनको भनाइ छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै लेखक ‘डस्टबिन’सहित घरदैलो अभियान, गाउँ–टोलमा पुगेर मत माग्दै आएका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र–३ मा एक प्रतिनिधि सभा सदस्यका लागि १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये लेखकसहित तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने १४ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन्।





प्रतिक्रिया दिनुहोस्