राष्ट्रिय मानव अधिकार आयोगले चुनावका क्रममा घृणायुक्त अभिव्यक्ति नदिन र त्यस्ता अभिव्यक्तिको प्रचारप्रसार नगर्न आग्रह गरेको छ।
मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै चुनावी प्रचारका क्रममा आइरहेका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
‘आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरू दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्ति सुरक्षामा समेत असर पर्ने आयोगले सचेत गराएको छ।
‘नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए पनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन,’ आयोगले भनेको छ, ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्याउनु आवश्यक हुन्छ।’
‘कसैले पनि नेपालको संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषाको प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोग राजनीतिक दलका नेता, उम्मेदवार एवम् सर्वसाधारणलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।





प्रतिक्रिया दिनुहोस्