काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन् ।
मंगलबार (माघ २३) बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सबै राजनितिक दलहरूको चाहानाअनुरुप नै देश निर्वाचनमा होमिएको बताए ।
“संविधानलाई डिरेलबाट रेलमा ठीक लिकमा ल्याउने भनेको निर्वाचन नै हो । त्यही महसुस गरेर अहिले हामी सबै राजनितिक दलहरू निर्वाचनमा होमिएका छौँ,” उनले भने ।
निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरू भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उनको आरोप छ । निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफैँ चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उनले बताए ।
“निर्वाचन गर्न जिम्मेवारी बोकेका मन्त्रीमण्डलका मन्त्री महोदयहरू मैदान छाडेर भाग्नुभयो । अन्तिम कालमा मैदान छाडेर भाग्नुभएको छ,” श्रेष्ठले भने, “विस्तारै पर्दा खोलिँदै छ, हिजोको आन्दोलनको र अबको दिनका पर्दाहरू अझ भोलि खोलिँदै जालान् ।”
राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भए पनि यसले नैतिक प्रश्न भने उठाएको उनको भनाइ छ । “राजीनामा दिएर चुनाव लड्न पाउने उहाँहरूको अधिकार हो तर नैतिक प्रश्न आज उठेको छ,” उनले भने ।
मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको उनको भनाइ छ ।
“मन्त्रीहरू आ–आफ्नो पार्टी र ओडार खोज्दै निर्वाचनमा हिँडिसक्नु भएको छ । यसबाट के बुझिन्छ ?” उनले भने, “हिजो मन्त्री पदमा बस्ने, शपथ खाने, निर्वाचन गर्ने अभिभारा बोक्ने, तर निर्वाचन हुनुभन्दा पहिला नै त्यहाँबाट भाग्ने ? अब कस्तो निष्पक्ष चुनाव गराउने ? हामी अनुमान गरौँ ।”
मन्त्री बनेकाहरू नै विभिन्न पार्टी प्रवेश गर्ने तथा आफ्नै पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा होमिनुले जेनजी आन्दोलन, सरकारी संयन्त्रमाथिको आगजानीलगायतका घटनाक्रमका ‘पर्दा’हरू विस्तारै खुल्न थालेको उनको टिप्पणी छ ।
“मन्त्री पदमा बस्दा दिएका उहाँहरूका सत्ता शक्ति गाडी घोडा त्यसको दुरुपयोग गरेर आफू चुनाव लड्ने क्षेत्रमा प्रयोग भयो की भएन होला ? अनि त्यसबाट निष्पक्ष चुनाव होला ? हामीले शंका गर्ने ठाउँ रहन्छ,” उनले भने ।





प्रतिक्रिया दिनुहोस्