चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार बनेकी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले चुनावी अभियान थालेकी छन् । सोमबार (माघ १२) भरतपुर महानगरपालिका–४, लन्कुस्थित आफ्नै निवासबाट उनले चुनावी प्रचारप्रसार सुरु गरेकी हुन् ।
त्यसक्रममा महिला र युवाको उपस्थिति थियो । भीडलाई सम्बोधन गर्दै उनले भनिन्, “मेरो प्रतिस्पर्धी म आफैँ हुँ । म विजयी भएँ भने त्यो सम्पूर्ण महिलाको विजय हो ।”
खरेल विगत ३५ वर्षदेखि समाजसेवा र महिला–बालबालिकाको अधिकारका निम्ति सक्रिय छिन् । आफू संसद्मा पुगेको अवस्थामा पनि लैगिंक हिंसा र विभेदका मुद्दा उठाउने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
उनले थपिन्, “चितवन–२ का लगभग ५० प्रतिशत मतदाता महिलाहरू हुन् । उनीहरूको न्याय र अधिकारका लागि सधैँ अगाडि रहिरहनेछु ।”
यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी मैदानमा छन् । दुईपटक चुनाव जितिकसेका पूर्वगृहमन्त्री एवं विघटित प्रतिनिधिसभाका सदस्य लामिछानेकी प्रतिस्पर्धी उमेदवार रहेकाले पनि खरेलका गतिविधि र अभिव्यक्तिलाई मानिसले नियालिरहेका छन् ।
आफूले समाजका निम्ति काम गरेर हासिल गरेको अनुभवलाई नीति निमार्ण तहमा लैजान मैदानमा होमिएको उनी बताउँछिन् ।
चितवन–२ मा खरेल र लामिछानेसँगै २३ उमेदवार छन् । २३ मध्ये ६ स्वतन्त्र उमेदवार छन् ।





प्रतिक्रिया दिनुहोस्