विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्कीलाई उम्मेदवार बनाएको छ । कार्की यसअघि रास्वपाका सभापति रवि लामिछानेको कडा आलोचक देखिन्थे ।
१२ वर्ष जापान बसेर फर्किएका कार्कीले गत वैशाख १८ (१ अप्रिल, २०२५) मा रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका थिए– सोझा सिधा जनतालाई भ्रम छरेर सहकारी ठगी गर्ने अमेरिकी ‘म टुलुटुलु हेरेर कहाँ बस्छु ?’ भनेर भ्रम छर्छ, तर पनि जनता पत्याउँछन्, पछि लागेकै छन् ।
यतिमात्र होइन, भदौ ३१ (१६ सेप्टेम्बर) मा उनले लामिछानेलाई अझ कडा प्रहार गर्दै लेखेका थिए, ‘रविजी आफूलाई पैसा लागेको छैन भन्नुहुन्छ तर आफू मालिक भएको कम्पनीमा रकम आएपछि दोषी हुन्छ भन्ने कुरा त जनावर बाहेक मान्छे सबैलाई थाहा हुन्छ ।’
उनले कुनै दिन आफूजस्तो मान्छे शक्तिमा पुगेको खण्डमा सहकारी ठगहरू जेलमा जानुपर्ने बताएका थिए ।
_BQQvOkuXtk.gif)
त्यतिमात्रै होइन, उनले तत्कालीन उपसभामुख इन्दिरा रानालाई कांग्रेस र एमालेले मानव तस्करको आरोप लगाएको बेलामा पनि स्टाटस लेख्दै सबै ठग र तस्कर भएको ठाउँमा मानव तस्कर पनि सँगै हुनुमा नौलो नभएको बताएका थिए ।

कुनैबेला यति रवि लामिछाने र उनको टिमको कडा आलोचक रहेका कार्कीले प्रतिनिधि सभा निर्वाचनमा उनै रविको हस्ताक्षरसहितको उम्मेदवारी मनोनयन पत्र पाएका हुन् ।
यसबारे रातोपाटीले राखेको जिज्ञासामा कार्कीले पार्टी सभापति रवि लामिछाने र तत्कालीन उपसभामुख इन्दिरा राना मगरका विषयमा सामाजिक सञ्जालमा आएका आफ्ना अभिव्यक्तिको स्वामित्व लिँदै ‘सत्यको पक्षमा बोल्ने’ दृढता प्रकट गरे ।
पार्टी सभापति रवि लामिछाने मुछिएको सहकारी प्रकरणका बारेमा कार्कीले भने, ‘यदि उहाँ (रवि लामिछाने) ले गल्ती गर्नुभएको हो भने जनताले उहाँलाई वाह–वाह गर्नु हुँदैन । उहाँमाथि पनि कारबाही हुनुपर्छ । मेरो मान्छे हुँदैमा देवत्वकरण गर्ने मेरो स्वभाव छैन ।’
आफ्नो व्यक्तिगत निष्ठाको चर्चा गर्दै कार्कीले नातावादभन्दा माथि उठेर सत्यको पक्षमा उभिने दाबी गरे । उनले भने, ‘सत्य र सही हुनुपर्छ । मेरो बुवाले गल्ती गर्नुभयो भने पनि म छोड्ने खालको मान्छे होइन । आफ्नै ठुलोबुवाविरुद्ध त स्कुलको विषयलाई लिएर मैले मुद्दा हालेको छु भने अरूको हकमा त झन् छोड्ने कुरै हुँदैन ।’
तत्कालीन उपसभामुख इन्दिरा राना मगरको विषयमा दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै कार्कीले भने, ‘तस्करी र गलत काम गर्नेहरूलाई रुलिङ गर्ने ठाउँमा बसेकाहरूले सानो गल्ती गरे पनि त्यसको अर्थ हुन्छ । गल्ती गर्नेले सजाय पाउनै पर्छ ।’
संसद भवन जलाएर खुसी मनाएका कार्की सांसद बन्ने यात्रामा अग्रसर
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले मुलुकमा एक खालको परिवर्तन ल्यायो । त्यो परिवर्तन ल्याउनमा कैयौँ युवाले प्राणको आहुति दिनु पर्यो भने राज्यले ठुलो परिमाणमा भौतिक सम्पत्तिको क्षति बेहोर्नु पर्यो ।
भदौ २४ गते जब काठमाडौँको नयाँ बानेश्वर क्षेत्र रणमैदान बनिरहेको थियो, रास्वपाले मोरङ–२ मा अहिले उम्मेदवार बनाएका उनै कार्की संसद् भवन परिसरभित्र पसेर खुसी मनाइरहेका थिए ।
उनले त्यस दिनको आफ्नो भूमिकालाई फेसबुकमार्फत पनि सार्वजनिक गरेका छन् । उनले भदौ २५ गते फेसबुकमा लेखेका छन्, ‘हामी संसद् भवन प्रवेश ग¥यौँ, संसद् भवनको भित्र अगाडि हामीले पुरानो कुर्सी जम्मा गरेर आगो बालिम् र खुसियाली मनाइम् ।’
संसद् भवन जलाउँदा खुसी हुने मान्छे भोलि सांसदको भूमिकामा कस्तो देखिएला ! स्वाभाविक रूपमा चासो बढ्छ नै । कार्कीले भने ‘हामीले कतै घरमा आगो लगाउने काम गरेका छैनौँ । बाटोमा कुर्सी बालेर विरोध जनाएका हौँ, जुन तस्बिरहरू सार्वजनिक भएका छन् ।’
कार्कीले सार्वजनिक पदमा बस्नेहरू उत्तरदायी हुनुपर्नेमा जोड दिँदै भने, ‘सार्वजनिक सम्पत्ति र निर्णयका विषयमा नागरिक, समाज र सरोकारवाला सबैसँग छलफल गरेरमात्र अघि बढ्नु पर्छ । अहिलेको समयमा जनतालाई लुकाएर वा ढाँटेर केही चल्दैन ।’
रास्वपाले मोरङ क्षेत्र नं. २ मा अघिल्लो निर्वाचनमा ठगेन्द्र न्यौपानेलाई उम्मेदवार बनाएको थियो । यस पटक न्यौपानेलाई नदिएर रास्वपाले कार्कीमाथि विश्वास देखाएको हो ।





प्रतिक्रिया दिनुहोस्