काठमाडौँ । मधेस प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासमा तत्कालीन सचिव, निर्देशकलगायत प्रतिवादी रहेको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नवीन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव श्रेष्ठ, लेखा अधिकृत दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक साह विरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको थियो ।
त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह विरुद्ध पनि रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरेको थियो ।
माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दीपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र लेखा अधिकृत अमरदीप महतो विरुद्ध पनि समान रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको थियो । त्यस्तै सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्